खेलकुद सोमबार, साउन १२, २०७७

म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगमा छनोट

हिमालखबर

म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगमा छनोट

इंग्लिस प्रिमियर लिगमा यो सिजनको अन्तिम खेलमा बाजी मार्दै म्यानचेस्टर युनाइटेड र चेल्सीले आउँदो वर्षको यूरोपेली च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

आइतबार राति सम्पन्न आ–आफ्नो खेलमा जित्दै युनाइटेड र चेल्सीले शीर्ष चारभित्र स्थान बनाएका हुन्। प्रिमियर लिगका शीर्ष चार टोली मात्र यूरोपको ठूलो प्रतियोगिता, च्याम्पियन्स लिगमा छनोट हुन्छन्।

युनाइटेड लेस्टर सिटीमाथि २–० गोलको जित हात पारेर लिगको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगमा पुगेको हो। आजको खेल अघि युनाइटेडको ६३ र पाँचौं स्थानको लेस्टरको ६२ अंक थियो। च्याम्पियन्स लिगमा छनोट हुन बराबरी मात्र पर्याप्त रहेको अवस्थामा युनाइटेडले शतप्रतिशत नतिजा निकालेको हो। युनाइटेडको जितमा दुवै गोल दोस्रो हाफमा भएका थिए।

यो हारसँगै लेस्टरको शीर्ष चारमा रहेर यूरोपको प्रतिष्ठित प्रतियोगितामा छनोट हुने सम्भावना अन्त्य भएको छ। आजको खेलअघि ६३ अंकसहित चौंथो स्थानमा रहेको चेल्सीले उल्भरह्याम्टनमाथि २–० कै जित निकाल्यो। चेल्सीका लागि पहिलो हाफको इन्जुरी समयमा मेसन माउन्ट र ओलिभियर जिरुडले गरेका गोल नै निर्णायक बने।

आफ्ना स्टार इडेन हाजार्डलाई गुमाएको र खेलाडी किन्न प्रतिबन्ध लागेको सिजनमा चेल्सीको नेतृत्व सम्हालेका फ्रांक लाम्पार्डले पहिलो सिजनमै चेल्सीलाई शीर्ष चारमा समेट्ने सफलता पाएका छन्। चेल्सी यो सिजन एफए कपको फाइनल पनि पुगिसकेको छ र उपाधिका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

लिगको उपाधि लिभरपुलले जितिसकेको छ भने म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट भइसकेको छ।

 

प्रतिकृया दिनुहोस