समाचार शनिबार, साउन १०, २०७७

म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई ३ लाख रुपैयाँ जरिवाना

हिमालखबर

म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई ३ लाख रुपैयाँ जरिवाना

सरकारले म्याद नाघेको पानी बेचेको आरोपमा भाटभटेनी सुपरमार्केटलाई रु.३ लाख जरिवाना लगाएको छ। भाटभटेनी सुपरमार्केट हनुमानस्थानले म्याद नाघेको बेली ब्राण्डको पानी बिक्री गरेको अनुगमनका क्रममा भेटिएपछि शुक्रबार (९ साउनमा) उक्त जरिवाना लगाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ।

उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गको उक्त विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले उक्त जरिवाना लगाएको हो। विभागले ऐनको दफा ३८ (ङ)को कसुरमा ३९ (१) (ख) बमोजिम भाटभटेनी सुपरमार्केटलाई रु.३ लाख जरिवाना लगाएको उल्लेख गरेको छ।

साथै, विभागले बिहीबार (८ साउनमा) पनि बिल बीजक जारी नगरी पानी बिक्री गरेको भन्दै धापाखेलको विभूति वाटर वेभरेजलाई पनि रु. २ लाख जरिवाना गराएको छ। उक्त पानी कम्पनीले पनि उपभोक्ता संरक्षण ऐन अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको उल्लेख छ।

प्रतिकृया दिनुहोस