एनसेल फाउन्डेशनको घोषणा
मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ।
१९औं वार्षिकोत्सवका अवसरमा एनसेलले फाउन्डेशनको घोषणा गरेको हो। गत १९ वर्षमा स्वास्थ्य, शिक्षा, वातावरण लगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी दुई अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको एनसेलले जनाएको छ। यी सबै कार्यलाई एउटै छातामुनि ल्याउन एनसेल फाउन्डेशनको स्थापना गरिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए।
फाउन्डेशनको उद्देश्य सामाजिक कार्य अन्तर्गत अत्यावश्यक भएका व्यक्तिलाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको उनको भनाइ छ। आगामी पाँच वर्षमा फाउन्डेशनले २० करोड रुपैयाँ सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा पेरिस पारालिम्पिक्स, २०२४ मा नेपालका लागि पहिलो पदक जितेर इतिहास रचेकी खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरिएको छ।
यससँगै एनसेल फाउन्डेशनको ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरिएको छ। यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यमा प्रतिआयोजना १० लाख सीड फन्डका रूपमा सहयोग गरिने भएको छ।