खेलकुद मंगलबार, साउन ६, २०७७

रोनाल्डोको गोलमा यूभेन्टसको जित, इन्टर मिलान आठ अंकले पछाडि

हिमालखबर

रोनाल्डोको गोलमा यूभेन्टसको जित, इन्टर मिलान आठ अंकले पछाडि

इटालियन सिरि ए मा लिग लिडर यूभेन्टसले लाजियो विरुद्ध जित निकाल्दै अग्रता थप फराकिलो बनाएको छ। सोमबार राति सकिएको खेलमा यूभेन्टसले लाजियोलाई दुई–एक गोल अन्तरले पराजित गरेको हो।

यूभेन्टसका लागि दुवै गोल विश्व चर्चित स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको ५१औं मिनेटमा रोनाल्डोले गोल गर्दै टीमलाई अग्रता दिलाए। उनले पेनाल्टी मार्फत् गोल गरेका थिए।

यसको तीन मिनेट लगत्तै फेरि उनलै गोल गर्दै अग्रता दोब्बर बनाए। ८३औं मिनेटमा फेरि लाजियोले पेनाल्टीको अवसर पायो। पेनाल्टी मार्फत् दुई–एक गोल अन्तरको समीकरण बनाए पनि हार टार्न सकेनन्।

जितसँगै यूभेन्टसले इन्टर मिलानसँग आठ अंकको अग्रता बनाएको छ। बाँकी चार खेल मात्रै रहँदा लिएको अग्रता निकै महत्वपूर्ण हुनेछ। समान ३४ खेलमा मिलानले ७२ अंक जोडेको छ भने एटलान्टाले ७१ अंक जोडेको छ।

तर, लाजियोले पछिल्ला खेलहरुमा खराब प्रदर्शन गरिरहेको छ। पाँच खेल यता जित निकाल्न नसक्दा लाजियो उपाधि होडबाट पछाडि धकेलिदै गएको छ।

प्रतिकृया दिनुहोस