ठोरीका बासिन्दा भन्छन्- 'राम जन्मभूमि अयोध्या यहीं छ!'(भिडिआे रिपाेर्टसहित)
![ठोरीका बासिन्दा भन्छन्- 'राम जन्मभूमि अयोध्या यहीं छ!'(भिडिआे रिपाेर्टसहित)](https://www.himalkhabar.com/uploads/posts/1594998931sa2.jpg)
–एस. उपाध्याय, पर्सा
२९ असारमा काठमाडौंमा भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् रामको जन्म भारतको अयोध्या भारत नभई नेपालस्थित वीरगञ्ज पश्चिम ठोरीमा भएको’ बताए ।
त्यसयता चर्चामा छ, पर्सा सदरमुकाम वीरगञ्जदेखि झण्डै ६८ किलोमिटर दूरीमा रहेको ठोरी । प्रधानमन्त्रीको भनाइपछि स्थानीय जनप्रतिनिधिमा उत्साह छाएको छ । प्रधानमन्त्रीले तथ्य बोलेको उनीहरुको तर्क छ ।
जनप्रतिनिधिहरुका अनुसार, ठोरी र चितवनको माडीमा भगवान् राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्वका स्थानहरु छन्, जसको पुरातात्विक अध्ययन हुन बाँकी छ ।
स्थानीयहरुमा ठोरी गाउँपालिका–२ सोमेश्वर पर्वतको काखमा रहेको यही सीता गुफामै सीता बसेको किंवदन्ती छ । यो पर्वतको दक्षिणतर्फ भारतको वाल्मीकि व्यग्र परियोजना अन्तर्गतको जंगल हुनुले पनि स्थानीयलाई थप बल दिएको छ ।
गर्भवती सीताले यही गुफा परिसरको हरियाली, खोला र सौन्दर्यमा रम्दै तपस्या गरेको जनविश्वास छ ।
हेर्नुहाेस्– भिडिआे
ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ ढिलै भएपनि प्रधानमन्त्री ओलीले स्वागतयोग्य सत्य कुरा उठाएको बताएका छन् । “रामको तपोभूमि भएको आधारमा ठोरीमा रामनगर भन्ने ठाउँ नै छ । यहाँ यस्ता धेरै ठाउँ छन् ।”
स्थानीयहरुका अनुसार, भगवानहरूको सभा गर्ने डाँडा ‘भगवाननगर डाँडा’ र बाँदरहरू नुहाउने खोला ‘ढेंडेखोला’, बाँदर झुल्ने ठाउँ ‘बाँदरझुला’ पनि रहेका छन् ।
गुफा नजिकै रहेको पहाडको चट्टानमा सीताले शिवलिङ्गको आकृति खोपेर रामको तपस्या गरेको जुन आकृति अहिले पनि सुरक्षित भएको स्थानीय बताउँछन् । ठोरीको उक्त गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणीस्थित वाल्मीकि आश्रम पुगेको विश्वास पनि गरिन्छ । उनीहरुका भनाइमा, सीताले पूजा–अर्चना गरेका शिला पनि अझै अवशेषको रूपमा छन् ।
वाल्मीकि आश्रमदेखि ठोरी–माडी क्षेत्रको सोमेश्वर पर्वत मालामा रामायणसँग सम्बन्धित प्रशस्त धार्मिक स्थलहरू रहेको पुजारी चिरञ्जीवी सापकोटाको दाबी छ ।
ठोरी गाउँपालिकाले सीतागुफा संरक्षण, संवद्र्धन र मन्दिर बनाउन रु.७ लाख र रामनवमीमा पूजापाठ गर्न रु. एक लाख ५० हजार छुट्याएको छ ।