मलेशियाकिनीद्वारा कामदारलाई लक्षित गरी नेपाली भाषामा कोरोना पोर्टल सञ्चालन
मलेशियाको अनलाइन पत्रिका मलेशियाकिनीले नेपाली कामदारलाई लक्षित गरेर नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी जानकारी दिने पोर्टल सञ्चालनमा ल्याएको छ।
आप्रवासी कामदार कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै मलेशियाकिनीले नेपालीसहित विभिन्न भाषामा पोर्टल सञ्चालनमा ल्याएको हो । पोर्टलमा मलेशियाका राज्य र जिल्ला अनुसार कोरोना संक्रमित, निको हुने र मृत्यु भएकाहरुको संख्या राखिएको छ।
यस्तै, पोर्टलमा कोरोनाभाइरस सम्बन्धी समाचारहरुलाई पनि नेपाली भाषामा उल्था गरेर राखिएको छ।
मलेशियाकिनीकी विशेष रिपोर्ट सम्पादक एडिला रज्जाकले हिमालखबरसँग कुरा गर्दै महामारी शुरु हुने वेला आप्रवासी कामदारका लागि प्रभावकारी हुनसक्ने सूचना सामग्री कसरी प्रदान गर्न सकिन्छ भनेर सोचेको र त्यसैको परिणाम स्वरुप पोर्टल सञ्चालनमा ल्याएको बताइन्।
उनले भनिन्, "खासगरी अंग्रेजी र मलेशियाको स्थानीय भाषा नबुझ्नेहरुका लागि कोरोनाभाइरस सम्बन्धी जानकारी थाहा पाउन एकदमै कठिन भएको देख्यौं । महामारीको वेला यस सम्बन्धी सूचना नपाउनु अनुचित महसुस गरेर पोर्टल बनाएका हौं।"
उनका अनुसार, मलेशियाको पेडास र नेगेरी सेम्बिलान राज्यमा रहेका उद्योगहरुमा धेरै जना संक्रमित भेटिएका छन् । जहाँ नेपाली कामदार पनि संक्रमणबाट प्रभावित भएका छन् । पेडासस्थित एक पोल्ट्री फार्ममा कार्यरत १६३ नेपाली कामदार कोरोना संक्रमित भएका छन्।
मलेशियामा २० लाख विदेशी कामदार कार्यरत छन् । यीमध्ये नेपाली कामदारको संख्या चार लाख छ।
मलेशियामा ३० असारसम्ममा दुई हजार ६०१ विदेशी संक्रमित भएका छन् । त्यहाँ कुल संक्रमित नेपाली कामदारको संख्या नखुले पनि संक्रमित नेपालीमध्ये कसैको पनि ज्यान गएको छैन।
मलेशियाको सरकारले कोरोना संक्रमण जोखिमका बीच अत्यावश्यक उत्पादनसँग जोडिएका ठूला कम्पनी र उद्योगहरु सञ्चालन गर्न अनुमति दिएपछि केही कम्पनी सञ्चालनमा छन् । खासगरी सर्जिकल पन्जा, मास्क लगायत व्यक्तिगत सुरक्षा सामग्री उत्पादन गर्ने कम्पनीहरु २४ घण्टासम्म सञ्चालनमा छन्।
तर यी कम्पनीहरुमा कामदारले असुरक्षित रुपमा काम गरिरहेको विवरण सार्वजनिक भइरहेका छन्।