बन्दाबन्दीले जुराएको ‘ड्राइभ-थ्रु’, गाडीबाटै अर्डर गाडीमै खाना (भिडिओ रिपोर्ट)
![बन्दाबन्दीले जुराएको ‘ड्राइभ-थ्रु’, गाडीबाटै अर्डर गाडीमै खाना (भिडिओ रिपोर्ट)](https://www.himalkhabar.com/uploads/posts/15945595551594559084drive_therow2.jpg)
कोभिड–१९ रोकथामका लागि ११ चैतदेखि जारी बन्दाबन्दीले खाना तथा खाजाको सेवाका लागि जुराएको नयाँ व्यापार ' ड्राइभ-थ्रु' हो ।
नेपालमा पहिलोपटक सवारी साधन चलाएर जाने र सवारी साधनबाट नझरीकनै खाना तथा खाजाको सेवा लिन सकिने (ड्राइभ-थ्रु)को व्यवसाय शुरु भएको छ।
सन्तोषकुमार लम्साल र मुक्ति दाहालको समूहले बालुवाटार पार्टी प्यालेसलाई बालुवाटार किचेन एक्सप्रेसका रुपमा परिणत गरेर ड्राइभ-थ्रु एण्ड टेकअवे (लिएर जाने) व्यवस्थासहितको रेस्टुरेन्ट शुरु गरेकाे हाे।
यो रेस्टुरेन्ट ड्राइभ-थ्रुकै अवधारणमा शुरु गरिएकाले आएर बसेर खाने भन्दा पनि बाहिरबाट आउने र खाना लिएरै जाने व्यवस्थामा आधारित भएको सञ्चालक सन्तोषकुमार लम्साल बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा निकै परिचित यो व्यवसाय नेपालमा भने पहिलो हो।
लम्सालले भने ‘‘१४ वर्षको बेलायत बसाइँबाट सिकेको सीप र ज्ञानलाई नेपालमा प्रयोग गर्दा नयाँ तथा फरक खालको व्यवसाय हुन पुगेको हो ।’’
मंसीर २०७६ बाट शुरु गरिएको बालुवाटार पार्टी प्यालेस बन्दाबन्दीपछि नचलेका कारण यसको सदुपयोग गरेको र नयाँ अवधारणाका साथ खानाको व्यवसाय शुरु गरेको उनको भनाइ छ।
बालुवाटार किचेन एक्सप्रेस, जहाँबाट ‘ड्राइभ थ्रु’ सेवा दिइन्छ । तस्वीरः हिमालखबरग्राहकले अर्डर लिएर गएको अवस्थामा पर्खन नपर्ने र रेस्टुरेन्टमै पुगेर अर्डर दिएको अवस्थामा भने पाँच मिनेटमै सेवा दिन सकिने दाबी लम्सालको छ । उनले भने ‘‘यहाँ ग्राहकले रुचाएका र चलेका मेनुका परिकार तयारी अवस्थामा हुन्छन्, त्यसलाई ग्राहकले सवारी साधान लिएर आउँदा पहिलो काउन्टरबाट अर्डर दिने र पैसा भुक्तानी गर्ने तथा दोस्रो काउन्टरबाट लिएर जाने व्यवस्था मिलाइएको छ ।’’
पर्याप्त पार्किङ भएकाले सवारीसाधनमै बसेर खाना खाने वा लिएर जान पाउने सुविधा दिइएको लम्साल बताउँछन्।
ग्राहकले मागेको खाजा तथा खाना आफैं लिएर जाने वा पुर्याउने दुवै सुविधा दिइएको अर्का सञ्चालक मुक्ति दाहाल बताउँछन्। दाहालले भने ‘‘२ किमी भित्र र रु.५ सय भन्दा माथिको अर्डरका लागि निःशुल्क डेलिभरीको सुविधा दिइएको छ । सो भन्दा लामो दूरीका लागि भने न्यूनतम शुल्क लाग्ने छ।’’
रेस्टुरेन्टसहित, होटल म्यानेजमेन्ट तालिम तथा गाडीमा राखेर विभिन्न स्थानमा डेलिभरी सुविधा दिइने योजना पनि अगाडि सारिएको छ । ग्राहकको सुविधाका लागि बजारमा उपलब्ध मूल्यकै आधारमा किफायती शुल्क राखेर मेनु तयार पारिएको पनि दाहालले बताए।
भिडियाे रिपाेर्ट
कोभिड १९ को संक्रमणबाट जोगिन र आवश्यक सुरक्षात्मक उपाय अपनाएर सेवा लिन सकिने भएकोले यो सेवा प्रभावकारी हुने दाहाल बताउँछन् । शुरु गरिएको एक सातामै दैनिक ५०\६० वटा डेलिभरीको अर्डर आउन थालिसकेको छ भने ५/७ वटा ड्राइभ थ्रु भइसकेको दाहाल बताउँछन् ।
यही समूहले आफ्टर स्कूल नामक नयाँ अवधारणाको कामको तयारी गरिरहेको छ। यसका लागि विद्यालय समय सकिएपछि समय व्यतित गर्ने र कामकाजी अभिभावकको सुविधाका लागि उनीहरुका बालबालिका राख्ने व्यवस्था हुने छ ।
यस्तो व्यवस्थामा दिउँसो ३ देखि साँझ ७ बजेसम्म बालबालिका हेरिदिने र आवश्यक अध्ययन गराउने अवधारणा अगाडि सारिएको छ।