समाचार आइतबार, असार २८, २०७७

महामारी यता ट्रम्पले पहिलोपटक लगाए मास्क

हिमालखबर

महामारी यता ट्रम्पले पहिलोपटक लगाए मास्क
तस्वीरः रोयटर्स

कोरोनाभाइरस महामारी शुरु भए यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक मास्क लगाएपछि पश्चिमा सञ्चारमाध्यमले महत्वका साथ समाचार बनाएका छन्। उनले आफूले कहिल्यै माक्स नलगाउने सार्वजनिक रुपमा नै बताउँदै आएका थिए।

ट्रम्पले वासिङ्टन बाहिरको वाल्टर रिड सैनिक अस्पताल भ्रमणका क्रममा शनिबार (११ जुलाई) मास्क लगाएका हुन्। त्यहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीहरुलाई भेटेका थिए। उनले मास्क लगाएको विषयलाई बीबीसी, सीएनएन लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले महत्वका साथ समाचार बनाएका छन्।

ती सञ्चारमाध्यमले यसलाई ट्रम्पमा आएको परिवर्तन बताएका छन्। तर ट्रम्पले भने ह्वाइट हाउसबाट निस्कने क्रममा आफू कहिल्यै मास्कको विपक्षमा नरहेको दाबी गरे।

तर यसअघि उनले आफूले मास्क नलगाउने मात्र बताएका थिएनन् कि मास्क लगाएर सार्वजनिक सभा तथा कार्यक्रममा उपस्थित भइरहेकमा राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उनका प्रतिष्पर्धी जोए बाइडेनलाई खिज्याएका पनि थिए।

शनिबार उनले भने, “मलाई लाग्छ जब तिमी अस्पतालमा हुन्छौ, विशेषगरी जब धेरै सैनिक तथा अन्य मानिसहरुसँग काम गर्ने स्थानमा बस्छौ, मास्क लगाउनु उचित हुन्छ।”

गत अप्रिलमा युएस सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी) ले जब मान्छेहरुलाई मास्क र शरीर ढाक्ने लुगा लगाएर कोरोनाभाइरस संक्रमण रोक्न सहयोग गर्न आग्रह गर्‍यो, ट्रम्पले सार्वजनिक रुपमा नै आफूले त्यसो नगर्ने घोषणा गरेका थिए। उनको घोषणाको अमेरिकाभित्रै आलोचना भएको थियो।

अमेरिकामा अहिलेसम्म ३३ लाख ५५ हजारभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन्। तीमध्ये एक लाख ३७ हजार ४०३ जनाको मृत्यु भएको छ भने १४ लाख ९० हजारभन्दा बढी निको भएका छन्।

प्रतिकृया दिनुहोस