मानव अधिकार आयोगले भन्यो आफ्नै सदस्यको भनाइलाई 'खेदजनक'
समाजवादी पार्टीले आफ्नो सांसद सरिता गिरीमाथि कारबाही गरेको विषयलाई राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले खेदजनक भनेकोप्रति आयोगले असहमति प्रकट गरेको छ।
आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा सदस्य अन्सारीले गिरीलाई पार्टीले गरेको कारबाही गरेकोप्रति २३ असार (७ जुलाई) मा सामाजिक सञ्जाल ट्वीटरमा खेदजनक भनेर गरेको टिप्पणीमा ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा सदस्य अन्सारीद्वारा व्यक्त भनाइलाई आयोगले अस्वीकार गर्ने भनिएको छ।
विज्ञप्तिमा लेखिएको छ, 'यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेदजनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ।’
आयोगकी सदस्य अन्सारीले ट्वीटरमा कोट ट्वीट गर्दै लेखेकी थिइन्, 'सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानबिन प्रतिवेदनको आधारमा कारबाही गरी निसकाशन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ ।'