बर्दीमा दाग लगाउने प्रयास असह्य : नवनियुक्त आईजीपी
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले बर्दीमा दाग लगाउने प्रहरी संगठनका कुनै पनि सदस्यको प्रयास असह्य हुने र त्यसविरुद्ध आफू निर्मम रुपले प्रस्तुत हुने बताएका छन्।
आज गृह मन्त्रालयमा आईजीपीको दर्ज्यानी चिन्ह ग्रहणपछि बोल्दै उनले यस्तो बताएका हुन् । नवनियुक्त आईजीपी क्षेत्रीले अब प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने प्रष्ट पार्दै भने, “हामी कानून कार्यान्वयन गर्ने निकाय हौं, कानून उल्लंघन गर्ने निकायको रुपमा रुपान्तरण हुने छुट हुने छैन।”
प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न नसक्ने र प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार, संगठनको सफलता र असफलतासँग गाँसिएको हुने उल्लेख गर्दै उनले भने, “यसको निम्ति उचित निर्देशन, भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ। मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पूरा तागत यसमा लगाउने वाचा गर्दछु।”
दिउँसो प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहणका लागि पुगेका आईजीपीलाई प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरिबहादुर पाल, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए। २३ असारको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।