आजदेखि चार दिनसम्म चार प्रदेशमा भारी वर्षा हुने, आफ्नो क्षेत्रमा हुने खतराबारे बुझ्न यी नम्बरमा फोन गरौं
आजदेखि आइतबार (२८ असार) सम्म चार प्रदेशमा यो वर्षकै सबैभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रदेश १, २, वागमती र गण्डकी प्रदेशमा चार दिन भारी वर्षा हुने पूर्वानुमान गरेको हो।
यो वर्ष वैशाखदेखि नै पानी परिरहेको र झन् एकै पटक भारी वर्षा हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढाएको प्राधिकरणले जनाएको छ । विज्ञप्तिमा वर्षाका कारण पहाडी क्षेत्रका साना खोलानाला, खहरे, नदीनालामा बाढी आउन सक्ने र तीन महीना अघिदेखिको लगातारको वर्षाले गलेको जमीनमा पहिरो समेत जान सक्ने भएकाले सचेत भएर बस्न सम्बन्धित प्रदेशका बासिन्दालाई आग्रह गरिएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जारी गरेको विज्ञप्तिमा आफ्नो क्षेत्रमा हुने खतराबारे जानकारी लिन शुल्क नलाग्ने फोन नम्बर ११५५ र ११४९ मा फोन गर्न आग्रह गरिएको छ।
टोल फ्री नम्बर ११५५ जल तथा मौसम विज्ञान विभागको हो भने र आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको नम्बर ११४९ चौबिसै घण्टा खुला रहने विज्ञप्तिमा भनिएको छ।
भोलिदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म पुग्न सक्ने अनुमान गरिएको छ । उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ।
खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई विशेष चनाखो रहन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले यी चार प्रदेश बाहेक प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई पनि यो समयमा सतर्क रहन भनेको छ।