समाचार बुधबार, असार २४, २०७७

धान रोपाइँ ३७ प्रतिशतले बढ्यो, असार तेस्रो सातामै ६० प्रतिशत सकियो

हिमालखबर

धान रोपाइँ ३७ प्रतिशतले बढ्यो, असार तेस्रो सातामै ६० प्रतिशत सकियो

यो वर्ष मौसम अनुकूल भएकाले असार तेस्रो सातामा गत वर्षको यही अवधिको तुलनामा ३७ प्रतिशत धान रोपाइँ बढ्ने र उत्पादकत्वमा पनि वृद्धि हुने आकलन छ।

देशैभर धान रोपाइँ ६०.६३ प्रतिशत सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २३ असारमा जारी गरेको एक तथ्यांक अनुसार असार तेस्रो साता २२ असार)सम्ममा देशैभर धान रोपाइँ ८ लाख ३१ हजार ६१२ हेक्टरमा भएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार यो वर्ष १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । सो अनुमानका आधारमा आधा भन्दा बढी कृषियोग्य भूमिमा रोपाइँ भइसकेको छ।

यो वर्ष भएको धान रोपाइँ अघिल्लो वर्ष २२ असार २०७६ सम्मको तुलनामा करीब ३७ प्रतिशत (३६.८३ प्रतिशत)ले बढेको छ । गत वर्ष असार तेस्रो सातासम्ममा जम्मा ३ लाख २६ हजार ४५१ हेक्टरमा रोपाइँ भएको थियो ।

गत वर्षमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्ष भएको सोही क्षेत्रफलमा यो वर्ष पनि रोपाइँ हुने अनुमानका आधारमा मन्त्रालयले गत वर्षको तुलनामा रोपाइँ उल्लेख्य मात्रामा बढेको उल्लेख गरेकाे छ।

मन्त्रालयका अनुसार यस वर्ष उच्च पहाडी क्षेत्रमा ५७.२४ प्रतिशत, मध्यपहाडमा ५६.१४ प्रतिशत र तराईमा ६२.३८ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यस्तो रोपाइँ उच्चपहाडमा ३४.६३ प्रतिशत, मध्य पहाडमा ३२.८१ प्रतिशत र तराईमा २०.०७ प्रतिशत थियो।

यस वर्ष भएको रोपाइँमा सबैभन्दा धेरै कर्णाली प्रदेशमा (७९.८६ प्रतिशत) भएको छ भने सबैभन्दा कम प्रदेश नम्बर २ मा (५०.२२ प्रतिशत) भएको छ । त्यसैगरी गण्डकी प्रदेशमा ५६.४९, प्रदेश नम्बर १ मा ५१.५४, बागमती प्रदेशमा ५२.०२, प्रदेश नम्बर ५ मा ७५.४८ र सुदूरपश्चिम प्रदेशमा ७५.८६ प्रतिशत रोपाइँ भएको पनि कृषि विकास मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ।

मन्त्रालयका सूचना अधिकारी प्रकाशचन्द्र भट्टराईका अनुसार समयमा नै पानी परेको तथा गत वर्षको तुलनामा अहिलेसम्म नै मौसम अनुकूल भएकाले रोपाइँ बढेको हो । रोपाइँ समयमा नै हुनु र अहिलेको अवस्था अनुसार यो वर्ष धान उत्पादन पनि गत वर्षको तुलनमामा केही प्रतिशतले बढ्ने अनुमान गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस