युवाहरू लागूऔषधमा फसेकाले विकासमा प्रभाव पर्यो: गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागूऔषधमा फसेकाले विकासमा प्रभाव परेको बताएका छन् । लागूऔषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिकीकरण कार्यक्रममा गृहमन्त्री थापाले समाजको र राष्ट्रको विकासका लागि युवाहरूको अग्रणी भूमिका हुने भएपनि लागूऔषध सेवनले प्रभाव परेको बताएका हुन्।
युवा शक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताउँदै थापाले प्रयोगकर्ताहरूको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको धारणा राखे । थापाले मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागूऔषध नियन्त्रण जरुरी रहेको बताए।
गृहमन्त्री थापाले विश्वमहामारीका रुपमा फैलिएको कोरोना जस्तै लागूऔषध प्रयोगकर्ताहरू रहेको बताए । कोरोना जस्तै संक्रामक रोगको रुपमा यो फैलिंदै गएको उल्लेख गर्दै थापाले यसको नियन्त्रणका लागि एकताबद्ध भएर योजनाबद्ध रुपमा लगाडि बढ्नुपर्ने संकल्प लिनुपर्ने बताए। मन्त्रालयले योजना नै बनाएर लागूऔषध विरुद्धको अभियान शुरु गरेको जानकारी मन्त्री थापाले दिए।