कोरोना विरुद्ध सचेतना फैलाउन भेट्रान सडक दौड
लभ एण्ड स्पोर्टस् फाउण्डेसन नेपालले कोरोना विरुद्ध सचेतना फैलाउने उद्देश्यसाथ काठमाडौंमा २० असारमा ५ किलोमिटर भेट्रान सडक दौड प्रतियोगिता आयोजना गर्यो।
‘भौतिक दूरी कायम गरी दौडौं, स्वस्थ रहौं’ नारासाथ भएको उक्त प्रतियोगितामा ६० वर्ष माथिका स्पर्धी समूहमा शम्भु दाहाल प्रथम, पुष्पलाल श्रेष्ठ द्वितीय र मंगलदास श्रेष्ठ तृतीय भए । त्यस्तै ४०—५९ वर्ष उमेर समूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्वितीय र दीपकुमार रञ्जित तृतीय भएका थिए।
त्यस्तै, खुल्ला महिलातर्फ याङ्दी लामा प्रथम, सीता रिमाल द्वितीय र राधा श्रेष्ठ तृतीय बनेको प्रतियोगिताका संयोजक वरिष्ठ गीतकार तथा धावक बुद्धवीर लामाले बताए।
४० वर्ष माथिका २५ जना सहभागी उक्त प्रतियोगितामा प्रसिद्ध धावक वैकुष्ठ मानन्धर, स्पोर्टस् फाउण्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ लगायतको पनि सहभागिता थियो।
कोरोना रोकथामका लागि २५ जना भन्दा बढी भेला नहुन सरकारले सूचित गरेका कारण सहभागी संख्या सीमित गर्दै हरेकलाई कम्तीमा ५ फुटको दूरी अन्तरमा काठमाडाैंकाे दशरथ रंगशालादेखि दरबारमार्गसम्म र दरबारमार्गदेखि पुन: दशरथ रंगशालासम्म दौडाइएको फाउण्डेसनले जनाएको छ।
अमेरिकाको नर्थ क्यारोलेनामा मुख्यालय रहेको फाउण्डेसनले मनोरञ्जन र परोपकार केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ।
–गाेपाल गड्ताैला