नेकपाका ५२ केन्द्रीय सदस्यको भर्चुअल बैठक, केन्द्रीय कमिटी बैठकको माग गर्ने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५२ केन्द्रीय सदस्यहरुले भर्चुएल बैठक गरेका छन्। पार्टी फुटको संघारमा पुगे पछि शनिबार राति भर्चुएल बैठक गरेका हुन्।
बैठकमा सहभागी केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार, बैठकमा सामेल नेताहरुले केन्द्रीय कमिटी बैठक माग गर्ने सहमति गरेका छन्। गैरेले भने, “पार्टीमा संकट बढ्दै गएपछि आकस्मिक रुपमा भर्चुएल बैठक बसेका छौं। तत्काल केन्द्रीय कमिटी बैठकको माग गर्ने सहमति भएको छ।”
अधिकांश नेताहरुले पार्टीलाई विभाजनबाट रोक्न केन्द्रीय कमिटी बैठकको माग गर्न सहमत भएको उनले बताए। उनले भने, “विभाजन रोक्न नेताहरुले जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्छ। तर, एकता कायम रहनुपर्छ भन्ने छ।”
नेकपाभित्र संकट बढ्दै गएपछि १० असार देखि शुरु भएको स्थायी कमिटी बैठक भने प्रभावित बनेको छ। शनिबार साँझ मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, राज्य मन्त्री र आफ्ना सचिवालय सदस्यहरुलाई ब्रिफिङ गर्दै अवस्था जटिल बन्दै गएको बताएका छन्। प्रधानमन्त्री ओलीले अर्को बैठकमा कित्ता प्रष्ट पार्नेगरी आउन पनि आग्रह गरेका छन्।
गएको बिहीबार प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक गरी बजेट अधिबेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक भने प्रभावित बनेको छ। त्यस यता बैठक बस्न सकेको छैन। शनिबार बोलाइएको बैठक पनि नेताहरु बीच सहमति जुट्न नसकेको भन्दै २२ असारका लागि स्थगित गरिएको छ।