अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण: रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विभाजनलाई पर्खेर सत्तामा जाने चाहना राख्नु कांग्रेसका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन्।
वागमती प्रदेशस्तरीय कांग्रेस नेता कार्यकर्ताहरू सँगको छलफलमा नेता पौडेलले अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण हुने बताएका हुन्।
विश्वमा कम्युनिष्टहरू हल्ला मच्चाउने समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टि भइसकेको स्मरण गर्दै नेपालमा पनि यो कुरालाई पुष्टि गरेको बताए।
पौडेलले कम्युनिष्टहरू विभाजन भएर प्राप्त गरेको सत्ता चलाएर कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिसनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेको बताए। उनले कांग्रेसको १४ औं महाधिवेशन त्यो मिशनका लागि भिजन भएको कांग्रेस बनाउने समेत धारणा राखे।
उनले कम्युनिष्टहरूले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने समेत बताए । पौडेलले कम्युनिष्टहरू मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउदै अहिले कम्युनिष्टहरूले पाएको झण्डै दुईतिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनसक्ने आशंका व्यक्त गरे।
पौडेलले दुईतिहाइ नजिकको बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा कम्युनिष्टहरुले पाएको दुईतिहाई मत समस्या बन्ने हो कि भन्नेमा आम नागरिकमा शंका उत्पन्न भएको बताए।
पौडेलले नेपाली कांग्रेसले जोड घटाउन गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शनको राजनीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे।