पत्रकारहरूको पेसागत सुरक्षाको माग गर्दै आन्दोलनमा महासंघ
पेसागत सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकार तथा सञ्चारकर्मीहरू आन्दोलमा उत्रिएका छन्।
विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूलाई बन्दाबन्दीको बहानामा कामबाट निकालिएको र ज्याला नदिएको भन्दै महासंघको नेतृत्वमा विभिन्न पत्रकार संगठन र विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।
"श्रमजीवी पत्रकारहरूकाे पेशागत सुरक्षा गर्न आन्दोलनमा जानु परेकाे हाे । काेराेना कहरमा पत्रकारहरूलाई जबर्जस्ती निष्काशन गर्ने, राजीनामा दिन दबाब दिने र काम गर्ने वातावरण नदिने विभिन्न १२ वटा मिडिया हाउसहरूले गरेको अन्यायका बारेमा महासंघमा निवेदन परेको थियो," पत्रकार महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सहसंयाेजक जन्मदेव जैसीले भने, "त्यसको अध्ययन गर्दा अन्याय भएको महसुस भएका कारण महासंघ आन्दाेलनमा जानुपर्ने बाध्यात्मक स्थिति आएको हो।"
शुक्रबार बबरमहलमा सम्पन्न प्रदर्शनमा पत्रकारहरूले ‘अरूको आवाज हामीले सुन्यौं, हाम्रो आवाज कसले सुन्ने?’, ‘सञ्चारगृहले कमाएको अर्बाैं मुनाफा खोई?’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर सडकमा प्रदर्शन गरे।
आजको आन्दोलनमा पत्रकार महासंघ केन्द्रीय समिति पदाधिकारी, विभिन्न संघ/संगठन, श्रमजीवी पत्रकार, कर्मचारी र पीडित पत्रकारको सहभागिता रहेको जैसीले जानकारी दिए । महासंघले कोरोना महामारी र विभिन्न कारणले समस्यामा परेका श्रमजीवी पत्रकारको सुरक्षाको माग गर्दै विभिन्न चरणका आन्दोलन गर्ने भएको छ।
"अब हामी समस्या झेलिरहेका र दबाबमा परेका पत्रकारहरूकाे रक्षाका लागि उनीहरू कार्यरत मिडिया हाउसमा धर्ना, घेराउ र कालाे ब्यानर टाँग्छाैं," जैसीले हिमालसँग भने, "समस्या हल गर्न व्यवस्थापक तयार नभए महासंघले दाेस्राे चरणको सशक्त आन्दोलनका कार्यक्रम पनि ल्याउँछ।"