भिक्षु ज्ञानपूर्णिक महास्थविरको निधन
नेपालका सातौं संघनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थविरको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित उनी बुद्धधर्मको प्रचारप्रसारमा आजीवन समर्पित थिए । बुद्ध जन्मभूमि नेपाल चिनाउन विश्वका विभिन्न देशमा प्रचार प्रसारमा लागेका भिक्षु महास्थविरको शुक्रबार बिहान निधन भएको हो।
६ मंसीर १९९६ सालमा पाल्पाको तानसेनमा जन्मिएका सूर्यलाल शाक्य र चन्द्रमाया शाक्यका छोरा हिरालाल शाक्यलाई आमा चन्द्रमायाले भिक्षु बनाउन ११ वर्षको उमेरमा भिक्षु बुद्धघोष महास्थविर अर्थात नेपालका पाँचौं संघ नायकलाई जिम्मा लगाएकाे बताइएकाे छ।
१६ वर्षमा बुद्धधर्मको उच्चशिक्षा त्रिपिटक अध्ययनका लागि उनी भारत हुँदै बर्मा पुगे। बर्मामा बुद्ध शिक्षा र भारतमा संस्कृत शिक्षा प्राप्त गरेका भिक्षुले नेपालमा पनि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरतहको शिक्षा लिएकाे जनाइएकाे छ।
बर्मामा बौद्ध काउन्सिलको प्रकाशन संस्थामा औपचारिक सरकारी स्तरमा रही पालि बर्मिज विश्व शब्दकोषको सम्पादन गरेका उनले ६० भन्दा बढी बौद्ध साहित्य ग्रन्थहरु अनुवाद, सम्पादन तथा लेखन गरी प्रकाशनमा ल्याएकाे बताइन्छ।
एशियाका मलेसिया, जापान, साइबेरिया, इन्डोनेशिया, सिंगापुर, श्रीलंका, थाइल्याण्ड तथा युराेप, अमेरिका र अष्ट्रेलिया महादेशसम्म पुगी उनले बुद्ध शिक्षा र ध्यानकाे प्रचार प्रसार गरेकाे जनाइएकाे छ।
संघ उपनायक पदको जिम्मेवारीमा रहेका उनी छैठौं संघनायक भिक्षु अश्वघोष महास्थविरको देहावसान पश्चात् १ वैशाख २०७६ अखिल नेपाल भिक्षु महासंघबाट नेपालको सातौं संघनायक भएका थिए।