समुदाय स्तरमा कोरोना फैलिएपछि रौतहटका दुई स्थानीय तह सिल
समुदाय स्तरमा कोरोनाभाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि रौतहटका दुई स्थानीय तह सिल गरिएको छ।
ईशनाथ र बौद्धिमाई नगरपालिकामा समुदाय स्तरमा कोरोनाभाइरसको संक्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
दुवै नगरपालिकाबाट कोही पनि बाहिरिन र अन्यत्रबाट भित्रिन नपाउने गरी कडाइ गरिएको छ भने अर्को आदेश नभएसम्मका लागि बन्दाबन्दी पनि लागू गरिएको छ।
बौद्धिमाई नगरपालिकाका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकाले नगरपालिका अत्यावश्यकीय आन्तरिक कार्य बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ। बौद्धिमाईको वडा नम्बर ७ र ८ का कार्यालय पनि बन्द गरिएका छन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले समुदायबाट अर्को समुदायमा तथा व्यक्तिमा संक्रमणको जोखिम न्यूनीकरण गर्न दुवै पालिका सिल तथा बन्दाबन्दी गर्ने र कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।
- सञ्जय मित्र, रौतहट