बन्दाबन्दीपछि २२ देशबाट ११ हजार नेपालीको उद्धार
कोरोना महामारीसँगै विभिन्न देशमा पुगेर समस्यामा परेका तथा रोजारी गुमाएर बेखर्ची भएका गरी २२ देशबाट ११ हजार १३७ नेपालीको १३ असारसम्ममा उद्धार भएको हो।
विभिन्न देशमा समस्या परेका ११ हजार ३७१ नेपालीकाे उद्धार भएको छ । भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका यी नेपाली कामको सिलसिलामा विभिन्न देशमा पुगेका थिए । गैरआवासीय नेपाली संघले तयार पारेको तथ्यांक अनुसार कोरानोभाइरसपछि रोजगारी गुमाएका र विभिन्न समस्यामा परेर उद्धार गर्नुपर्ने अवस्था भएका नेपालीकाे २२ जेठदेखि १३ असारसम्म उद्धार भएको उल्लेख छ।
विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्ने काम भने अझै भइरहेको छ । नेपालीको उद्धारका क्रममा गैरआवासीय नेपाली संघले विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद मार्फत सहकार्य एवं समन्वय गरिरहेको उल्लेख छ।
१३ असारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् । उद्धार उडान गरेर नेपाल भित्रिएकामा युएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १ हजार २१८, मलेसियाबाट ९२१, बाङ्लादेशबाट ८१५, कतारबाट ६३८, माल्दिभ्सबाट, ६०४, जापानबाट ४९२ र अस्ट्रेलियाबाट २६९ जना नेपाल आएका छन्।
यस्तै बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३, अमेरिकाबाट ४८३, दक्षिण कोरिया २२८, सिंगापुरबाट १४६, बेलायत २२९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३३१ नेपाली स्वदेश फर्किएका हुन्।
गैरआवासीय नेपाली संघले विदेशस्थित राष्ट्रिय समन्वय परिषद मार्फत अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गरेको दाबी गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको छ।
उद्धार उडानसँगै बन्दाबन्दीले नेपाली ल्याउन नपाएका ८७ वटा शव विभिन्न देशबाट २२ जेठदेखि १३ असारसम्म नेपाल ल्याइएको छ । यस्तो शव नेपाल ल्याउँदा कतारबाट २० वटा, साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, युएईबाट ५, बहराइनबाट ३ वटा र ओमानबाट एउटा शव ल्याइएको छ । यस अलावा १२० वटा शव अझै विदेशमै रहेको र त्यसलाई नेपाल ल्याउन संघले सरकारको ध्यानाकर्षण गराएको उल्लेख छ।
संघले तयार पारेको १३ असारसम्मको तथ्यांक अनुसार विश्वभरका ३७ देशमा ३८ हजार ५ सय ३६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कोरानाकै कारण विदेशमा ज्यान गुमाउने नेपालीको संंख्या १३० पुगेको छ।