समाचार शनिबार, असार १३, २०७७

बन्दाबन्दी खुलेपछि दिल्लीमा कोरोनाबाट मृत्यु हुने पाँच गुणा बढे

हिमालखबर

बन्दाबन्दी खुलेपछि दिल्लीमा कोरोनाबाट मृत्यु हुने पाँच गुणा बढे

दिल्लीमा कोरोनाभाइरसको पहिलो संक्रमित २ मार्चमा भेटिएका थिए । त्यसपछि संक्रमण तीव्र गतिमा फैलियो । मेको अन्त्यसम्ममा त्यहाँ कूल संक्रमित १९ हजार ८४४ पुगेका थिए । ४७३ जनाको मृत्यु भएको थियो । यो आँकडा बन्दाबन्दी खुल्नुअघिसम्मको हो ।

१ जुनदेखि बन्दाबन्दी खुकुलो बनाएसँगै संक्रमण र मृत्युदर दुवै बढ्यो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नै बन्दाबन्दी खुलाउन माग गरिरहेका थिए । तर उनको आवाज दिल्लीका लागि भने घातक भएको छ ।

दिल्लीमा जुनमा मात्र करीब ५० हजार नयाँ संक्रमित थपिए र कूल संख्या ७० हजारभन्दा माथि पुग्यो । अनि मुम्बइलाई पछि पार्दै दिल्ली सबैभन्दा बढी संक्रमित भएको भारतीय शहर बन्यो ।

बन्दाबन्दी खुकुलो भएसँगै संक्रमित र मृत्यु हुने दुवै संख्या बढ्यो । मृत्यु हुनेको संख्या त बन्दाबन्दीपछि पाँच गुणाले बढ्यो । मे अन्त्यसम्ममा ४७३ जनाको मृत्यु भएकोमा १ जुनबाट बन्दाबन्दी खुकुलो भएसँगै मृत्यु हुनेको संख्या उकालो लाग्यो ।

जुन पहिलो हप्तामा नै दिल्लीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बर भयो । १५ जुनमा यो संख्या १४०० पुग्यो । अर्थात दुई हप्तामा नै झन्डै एक हजार जनाको मृत्यु भयो ।

गएका १० दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या यही दरमा बढिरहेको छ । २६ जुन अर्थात शुक्रबारसम्ममा दिल्लीमा दुई हजार ४२९ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा कूल संक्रमितमध्ये चार प्रतिशतको मृत्यु भएको छ ।

भारतमा सबैभन्दा बढी मृत्यु मुम्बईमा भए पनि संक्रमित भने दिल्लीमा धेरै छन् । दिल्लीमा परीक्षण धेरै भएकाले संक्रमित पनि बढी देखिएको केही विशेषज्ञको भनाइ छ ।

त्यहाँ प्रत्येक दिन हुने परीक्षण तीन गुणाले बढाइएको छ । पहिलो औषत पाँचदेखि छ हजारको प्रत्येक दिन कोरोना परीक्षण हुन्थ्यो । अहिले १६ हजारभन्दा बढीको परीक्षण एकैदिन हुन्छ ।

-दैनिक भाष्करबाट

प्रतिकृया दिनुहोस