सीडीसी समूहको नेपाल प्रतिनिधिमा रायमाझी नियुक्त
बेलायतको लगानी संस्था सीडीसी ग्रुपले रवि रायमाझीलाई नेपालका लागि प्रतिनिधि (कन्ट्री रिप्रेजेन्टिटिभ) नियुक्त गरेको छ।
बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको सीडीसी ग्रुपले अफ्रिका र दक्षिण एशियाका देशहरुका विभिन्न व्यवसायमा लगानी गर्दै आएको छ । नेपालमा यसले इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंक, माथिल्लो त्रिशुली–१ तथा एनएमबी ब्यांकमा लगानी गरिसकेको छ।
अन्तर्राष्ट्रिय विकाससम्बन्धी बेलायती संस्था डीएफआईडीको नेपालमा निजी क्षेत्र विकास सल्लाहकारका रुपमा चार वर्ष काम गरेका रायमाझीले वित्तीय तथा साना र मझौला व्यवसायसम्बन्धी परियोजनालाई नेतृत्व दिएका थिए । त्यसअघि उनी लगानी बोर्डमा कार्यरत रहेको सीडीसीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
रायमाझीले नेपाल प्रतिनिधिका रुपमा सीडीसीका एशियाभरिका समूहसँग मिलेर नेपालका व्यवसायहरुमा लगानी विस्तार तथा तिनीहरुको व्यावसायिक सुधारका लागि काम गर्ने जनाइएको छ।
सीडीसीकी एशिया प्रमुख श्रीनी नागाराजनले सीडीसीले नेपालका व्यवसायहरुलाई दीर्घकालीन पुँजी सहयोग तथा व्यवसाय विस्तारमा सहयोग जारी राख्ने उल्लेख गरेको विज्ञप्तिमा जनाइएको छ।
सीडीसीले करीब डेढ वर्षका बीचमा नेपालको एनएमबी ब्यांकमा १५ मिलियन डलर (करीब रु. १ अर्ब ८० करोड) र वर्ल्ड लिंकमा १२ मिलियन डलर (करीब रु. १ अर्ब ४४ करोड) लगानी गरेको छ । यसले रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत परियोजनामा मा रु. २ अर्ब ६२ करोड लगानी प्रतिबद्धता जनाएको छ।