थप समाचार सोमबार, असार ८, २०७७

भारतमा कोरोना संक्रमणबाट २४ घण्टामै ४४५ को मृत्यु

हिमालखबर

भारतमा कोरोना संक्रमणबाट २४ घण्टामै ४४५ को मृत्यु

भारतमा पछिल्लो एकदिनमै कोरोनाभाइरसका १४ हजार ८२१ जना नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ संक्रमणबाट ४४५ जनाको मृत्यु भएको छ।

पछिल्लो संक्रमितहरु थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ४ लाख २६ हजार ९१० पुगेको छ। जसमध्ये सोमबार दिउँसो २ बजेसम्ममा १३ हजार ७०३ जनाको मृत्यु भइसकेको छ।

यस्तै, कुल संक्रमितमध्ये २ लाख ३७ हजार २५२ जना उपचारपछि निको भएका छन् भने १ लाख ७५ हजार ९५५ जना उपचाररत छन्।

कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये भारत चौथो स्थानमा छ।

विश्वभरिमा ९० लाख ६० हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण फैलिसकेको छ। विश्वमा आइतबार एकै दिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका थिए। आइतबार एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो एकैदिन नयाँ संक्रमित थपिएका अहिलेसम्मकै बढी संख्या हो।

विश्वभरिका कुल संक्रमितमध्ये ४८ लाख ४७ हजार निको भइसकेका छन् भने ४ लाख ७० हजार ९३९ जनाको मृत्यु भइसकेको छ।

अब कुल संक्रमितमध्ये ३७ लाख ४२ हजार ८२३ जनाको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस