खेलकुद शनिबार, असार ६, २०७७

टोटनहामले घरेलु मैदानमै युनाइटेडसँग अंक बाँड्यो

हिमालखबर

टोटनहामले घरेलु मैदानमै युनाइटेडसँग अंक बाँड्यो

इंग्लिस प्रिमियर लिगमा टोटनहाम र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। शनिबार टोटनहामको घरेलु मैदानमा युनाइटेड अंक खोस्न सफल भएको हो।

पहिलो हाफको २७औं मिनेटमै स्टेभेन बेर्जविनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए। उनको सशक्त प्रहार रोक्न नसकेपछि युनाइटेड पछाडि परेको थियो।

यसपछि पनि टोटनहामले निकै उत्कृष्ट दुई अवसरलाई गोलमा परिणत गर्न सकेन। पहिलो हाफमा एक–शून्यको अग्रता बनाएको टोटनहामले थप गोल गर्न सकेन।

तर, वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका पउल पोग्बालाई लडाएपछि युनाइटेडले पेनाल्टीको अवसर पायो। खेल सकिन १० मिनेट बाँकी रहँदा पाएको पेनाल्टीलाई युनाइटेडले गोलमा परिणत गरेसँगै खेल बराबरीमा सकियो।

युनाइटेडसँग बराबरी खेलेको अंक तालिकाको आठौं नम्बरमा छ। उसले ३० खेलबाट ४२ अंक जोडेको छ भने समान ३० खेलबाट ४६ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ। निकटतम प्रतिष्पर्धी म्यानचेस्टर सिटी भन्दा २२ अंकले अगाडि रहेको लिभरपुलले उपाधि भने लगभग कब्जा जमाइसकेको छ।

प्रतिकृया दिनुहोस