टिप्पणी शुक्रबार, असार ५, २०७७

भाँति पुर्‍याएर मात्रै गरौं ‘कपालभाति’

हिमालखबर

भाँति पुर्‍याएर मात्रै गरौं ‘कपालभाति’

कपालभाति अत्यन्त संवेदनशील र सावधानीपूर्वक गर्नुपर्ने अभ्यास हो । गलत तरिकाले त हानि गर्छ नै सही तरिकाले गर्दा पनि आफ्नो शरीरको क्षमताभन्दा बढी समय र प्रयासले गरेको अभ्यासले समेत फाइदा गर्दैन ।

विमला चौधरी

श्वास–प्रश्वासको गतिलाई नियमित पार्ने क्रिया नै प्राणायाम हो । प्राण अर्थात् श्वास, आयाम अर्थात् श्वास र निःश्वासबीचको दूरी बढाउनु । श्वास र निःश्वासको गतिलाई नियन्त्रण गरेर रोक्ने र निकाल्ने क्रिया नै प्राणायाम हो । शरीरमा रहेको जीवनको आधारभूत वायु (श्वास) लाई प्राण भनिन्छ । यसलाई प्राणीको मुख्य ऊर्जा पनि भन्न सकिन्छ किनभने यसले जीवन सञ्चालन गरिरहेको हुन्छ ।

जीवनलाई ऊर्जावान, चलायमान बनाउने १३ प्रकारका प्राणायाममध्ये कपालभाति अत्यन्तै प्रभावकारी र जटिल प्रकारको प्राणायाम हो । अष्टाङ्ग योगको चौथो नम्बरमा पर्ने प्राणायाम जीवनका हरेक पक्षमा अति नै प्रभावकारी मानिन्छ ।

आजभोलि योगका बारेमा राम्रोसँग नबुझी टिभी तथा यूट्यूबमा हेरेर गर्ने चलन बढेको छ । देखासिकी र दक्ष योग प्रशिक्षकको मार्गदर्शन विना गरिएको योग अभ्यास घातक हुनसक्छ। कोरोनाभाइरस संक्रमणको डरले पनि मानिसहरू आजभोलि स्वस्थ हुने, रोग प्रतिरोधात्मक क्षमता बढाउने ध्याउन्नमा जथाभावी प्राणायाम अभ्यास गरिरहेका छन् ।

हरेक रोगहरू सञ्चो बनाउने छोटो माध्यमको रूपमा कपालभाति प्राणायामको बजारीकरण भइरहेको छ तर त्यो सत्य होइन । कुनै खाद्यवस्तु मात्रा मिलाएर खाए अमृत हुन्छ तर त्यही मात्रा नमिलाई खाए विष बन्न सक्छ । त्यसैगरी कपालभातिको पनि मात्रा मिलाउन सक्नुपर्छ । आवश्यकता भन्दा बढी गरियो भने यसले स्वास्थ्य तथा जीवनमा जटिलता ल्याउन सक्छ ।

कपालभाति प्राणायामबाट लाभ लिन हामीले दक्ष प्रशिक्षकबाट सिक्न जरूरी छ । तालिमका क्रममा योग प्रशिक्षकद्वारा सुनाइएको एउटा कथा यहाँ प्रासंगिक नै हुनेछ । नसारोग विशेषज्ञ मित्रले भनेछन्, “विभिन्न माध्यममा उपलब्ध भएका कपालभाति अभ्यासले हामीलाई चाहिं फाइदै भएको छ ।”

मित्रको कुरा सुनेर योग प्रशिक्षकले कसरी ? भनेर प्रश्न गर्दा उनले भनेछन्, “मान्छेहरू वजन कम गर्न, मधुमेह, उच्च रक्तचाप लगायत अन्य रोगहरू पनि निको हुने भ्रममा देखासिकी गरेर आवश्यकता भन्दा बढी कपालभाति गर्छन् । त्यसले नसामा समस्या देखिन्छ । नसामा समस्या भएपछि हामीकहाँ आउँछन् ।”

सन् २००८ मा भारतको एशियन हार्ट इन्ष्टिच्यूटमा ३१ जना मुटुका बिरामीमा गरिएको एक अध्ययन अनुसार योग्य प्रशिक्षक विना जथाभावी कपालभाति गर्दा र आवश्यकता भन्दा बढी समय गरेका कारण उनीहरूमा मुटुसम्बन्धी समस्या भएको देखिएको थियो ।

त्यसकारण कपालभाति प्राणायाम सही तरिका, समय र मात्रामा गर्दा के के फाइदा हुन्छ र गलत तरिकाले गर्दा के के हानि हुनसक्छ भन्ने कुरा बुझ्न जरूरी छ ।

याे पनि हेर्नुहाेस– प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने पाँच योगासन

कपालभाति प्राणायाम गर्ने समय

  • यो अभ्यास सूर्योदय हुनुभन्दा अघि गर्दा राम्रो हुन्छ ।
  • नित्यकर्म गरेर पेट सफा र खालि भएपछि मात्र गर्नुपर्छ ।

 

कपालभाति गर्ने तरिका

  • समथर जमीनमा म्याट/गुन्द्री ओछ्याएर सुखासनमा बस्नुहोस् ।
  • ढाड सीधा राख्नुहोस् ।
  • हत्केलाहरू घुँडामाथि राख्नुहोस् ।
  • आँखा चिम्लेर शरीर तथा काँधहरू खुकुलो राख्नुहोस् ।
  • नाकको दुवै प्वालबाट लामो गहिरो श्वास लिनुुहोस् ।
  • श्वास लिंदा पेट फुल्दै ठूलो हुन्छ; श्वास फाल्दा नरोकिकन पेट खुम्च्याउँदै बल लगाएर फाल्नुहोस् ।
  • पेट खुम्च्याउँदै खुकुलो पार्दा श्वास आफंै फोक्सोमा पुग्छ ।
  • कपालभाति प्राणायाम गर्दा सास फाल्ने मात्र प्रयास गर्नुपर्छ र लिन गर्नुपर्दैन ।
  • शुरूमा १० देखि १५ पटकबाट शुरू गर्नुपर्छ । दिनदिनै अभ्यास गर्दै जाँदा २० को गन्ती गर्दै एक चरण पूरा गर्नुहोस् ।
  • २० पटकको गन्ती गर्दै ३ देखि ५ चरणसम्म अभ्यास गर्नुहोस् । अभ्यस्त भैसकेकाहरूले ५ देखि १० चरणसम्म गर्न सक्नुहुन्छ ।
  • अभ्यास गरिसकेपछि शान्त बस्नुहोस् ।
  • शरीरमा उत्पन्न झमझम, संवेदना र ऊर्जा महसूस गर्नुहोस् ।
  • विस्तारै आँखा खोल्नुहोस् ।

 

कपालभातिका फाइदा

  • शरीरको मेटाबोलिक रेट बढाएर वजन कम गर्छ ।
  • रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • सुगर, प्रेसर, मुटुको समस्या ठीक गर्छ ।
  • पाचनसम्बन्धी समस्यामा फाइदा गर्छ ।
  • बुढ्यौली कम गर्न मद्दत गर्छ ।
  • मस्तिष्क र शरीरलाई ऊर्जावान बनाई स्मरणशक्ति बढाउँछ ।
  • अनुहार र छालाका समस्याहरू कम तथा सञ्चो गर्छ ।
  • अनिद्रामा पनि फाइदा गर्छ ।
  • मनलाई शान्त राख्छ ।
  • दमको रोगीलाई फाइदा गर्छ ।
  • डिप्रेसनमा जान लागेका बिरामीलाई पनि फाइदा हुन्छ ।

 

भाँति (तरिका) नपुगे के असर गर्छ ?

  • यसले हर्निया र उच्च रक्तचाप गराउन सक्छ ।
  • रिंगटा लाग्ने, वाक्वाकी आउने हुन सक्छ ।
  • अभ्यास गरिसकेपछि टाउको दुख्न सक्छ । यस्तो टाउकोदुखाइलाई निरन्तर बेवास्ता गरियो भने माइग्रेन पनि विकसित हुनसक्छ ।
  • यसले ¥याल र अत्यधिक पसिना निष्काशन हुनसक्छ ।
  • नसा सम्बन्धी समस्या ल्याउन सक्छ ।
  • बेहोशी समेत हुनसक्छ ।
  • थकाइ लाग्ने, शरीर गल्ने आदि हुनसक्छ ।

 

मानसिक र भावनात्मक रूपमा के हुन्छ ?

  • रिस उठ्न सक्छ ।
  • नकारात्मक सोच पैदा हुनसक्छ ।
  • झर्को लाग्ने हुनसक्छ ।
  • चिन्ता, डर र डिप्रेसन पैदा हुनसक्छ ।
  • स्मरणशक्ति ह्रास हुनसक्छ ।
  • तनाव, छटपटी हुनसक्छ ।

 

कपालभाति कसले नगर्ने ?

  • सघन मुटुसम्बन्धी रोगीहरूले
  • हर्नियाका बिरामीहरूले
  • दमका रोगीहरूले
  • रिंगटा लाग्ने रोगीहरूले
  • अति डिप्रेसनका बिरामीहरूले
  • क्षयरोग र अल्सर भएकाहरूले
  • महीनावारी भएको वेलामा
  • पेटको सर्जरी गरेका मानिसहरूले
  • घाँटीमा स्वाँ–स्वाँ अथवा घ्यारघ्यार भएको छ भने ।

 

कपालभाति गर्दा हुनसक्ने सामान्य त्रुटि

  • सास तान्दा पेट खुम्च्याउनु
  • सास फाल्दा काँधहरूलाई खुम्च्याउनु
  • काँध, छाती र मेरुदण्ड स्थिर नराखी हल्लाइरहनु

 

यस्ता सामान्य गल्तीले असर गर्दैन तर जति फाइदा हुनुपर्ने हो त्यति हुँदैन । कम प्रभावकारी हुन्छ । अभ्यासका शुरू शुरूमा हुने यस्ता गल्तीप्रति सचेत हुनुपर्छ ।

कपालभाति अत्यन्त संवेदनशील र सावधानीपूर्वक गर्नुपर्ने अभ्यास हो । गलत तरिकाले त हानि गर्छ नै सही तरिकाले गर्दा पनि आफ्नो शरीरको क्षमताभन्दा बढी समय र प्रयासले गरेको अभ्यासले समेत फाइदा गर्दैन । योगले जहिले पनि ‘आफ्नो शरीरलाई चिन’ भन्छ । अर्थात् शरीरलाई चिनेर आत्मसात् गर्न सिकाउँछ । त्यसकारण आफूले आफैंलाई चिनेर योगको फाइदा लिऔं ।

अन्त्यमा, प्राणायाम अत्यन्त संवेदनशील अभ्यास भएकाले अन्य स्रोतहरू इन्टरनेट, यूट्यूब भिडियो हेरेर सकेसम्म नगर्दा नै राम्रो हुन्छ । दक्ष प्रशिक्षकको निगरानीमा केही समय सिकौं र त्यसपछि आफैं गरौं ।

(चाैधरी याेग प्रशिक्षक हुन् ।)

 

प्रतिकृया दिनुहोस