डकैतीको आरोप खेपिरहेका डीएसपी कुमुद ढुङ्गेल साधारण तारेखमा रिहा
महानगरीय अपराध महाशाखाले अनुसन्धान गरेको काठमाडौंको एउटा घटनामा पक्राउ परेका अभियुक्तसँग उनको नियमित सम्पर्क देखिएको आरोपमा मुद्दा खेपिरहेका डीएसपी कुमुद ढुङ्गेललाई अदालतले साधारण तारेखमा राख्न आदेश गरेको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले ढुङ्गेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो । यो सँगै निलम्बित रहेका ढुङ्गेल प्रहरी सेवामा फर्किने बाटो खुलेको छ । उनी मुद्दा दर्ताभएसँगै १९ वैशाख २०७६ बाट निलम्बनमा थिए।
२६ चैत २०७५ मा रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुङ्गेलबीच नियमित सम्पर्क हुने गरेको आरोपमा उनलाई समेत प्रतिवादी बनाइएको थियो।
रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले ६ वैशाख २०७६ मा पक्राउ गरेको थियो।