काठमाडौँ उपत्यका र अन्य जिल्लाभित्रका लागि जारी सबै सवारी पास रद्द
काठमाडौं उपत्यका र अन्य जिल्ला भित्रका लागि सबै निकायबाट जारी सवारी पासहरु आजबाट रद्द गरिएको छ । काठमाडौँ उपत्यका बाहिर जाने वा उपत्यका भित्रिने पास भने यथावत् राखिएको छ।
अब जोर बिजोर प्रणालीमा सवारी चल्ने हुनाले पास रद्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपपी भीमप्रसाद ढकालले जानकारी दिए । जोर बिजोर प्रणाली नेपाली पात्रो अनुसार गतेका आधारमा लागू हुनेछ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र चल्न पाउने छन्।
मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रेस तथा अत्यावश्यक सेवाका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू हुने छैन । त्यस्तै मोटरसाइमलमा एक जना र चारपाङ्ग्रे सवारी साधनमा चालक सहित तीन जना मात्र चढ्न पाउने छन्।
बिरामी बोकेका र आपतकालीन अवस्थाका सवारी साधनलाई डिउटीमा खटिएका प्रहरीले अवस्था हेरेर निर्णय गर्ने महाशाखाको भनाइ छ । यी सबै नियम निजी सवारीसाधनका हकमा मात्र लागू भएको हो । सार्वजनिक सवारीसाधन गुड्न पाउने छैनन्।