सुर्खेतको क्वारेन्टिनमा एक जनाको मृत्यु
लक्ष्मी भण्डारी, सुर्खेत
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका ७ मा रहेको सिरुवानी विद्यालयको क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ।
१२ दिनअघि भारतबाट गुर्भाकोट नगरपालिका फर्किएका ४८ वर्षीय उनको सोमबार बिहान १० बजेतिर मृत्यु भएको गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना बिकले जानकारी दिइन् । मृतक व्यक्ति पहिलेदेखि बिरामी रहेका र केही दिनअघि लडेर सामान्य चोट समेत लागेको जानकारी उपप्रमुख बिकले दिइन्।
बिहान आफैले खाना पकाएर खाएपछि एक्कासी बसिरहेको बेला मृत्यु भएको उनले बताइन् । अहिले मृतकको स्वाब परीक्षण गरेर पीसीआर परीक्षणको लागि सदरमुकाम सुर्खेत पठाइएको उपप्रमुख बिकले जानकारी दिइन्।
गुर्भाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किरण वलीले बिहान एक्कासी मुटु दुख्यो भनेको करीब आधा घन्टामा मृत्यु भएको बताए।
“भारतबाट आउँदा दुर्घटनाका कारण टाउकोमा चोट थियो” उनले भने, “१८ स्टिज लागेको थियो र हामीले दैनिक ड्रेसिङ्ग गराइरहनुका साथै औषधि पनि खुवाइरहेका थियौं ।” बिहान सबैलाई खाना खुवाउन सहयोग गरी आफूले पनि खाइसकेर बसेको अवस्थामै मृत्यु भएको वलीले जानकारी दिए।
मृतक व्यक्तिमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको तर स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्र भए नभएको पुष्टि हुने उनले बताए।
कोरोना संक्रमित बढ्न सक्ने अवस्था भएकोले नगरपालिकाले २५ बेडको आइसोलेसन निर्माण गरेको जानकारी दिए।