धनुषामा गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
गत २७ जेठमा धनुषाको सबैला नगरपालिका–७ बस्ने २५ वर्षीय अरुणकुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
गत २७ जेठ राति सोही ठाउँ स्थित हनुमान राप्रवि लबटोलीको पोखरीको डिलमा गोली प्रहार गरी हत्या भएको अवस्थामा अरुणको शव फेला परेको थियो।
सोही घटनाको अनुसन्धानका लागि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा श्रवणले गोली प्रहार गरेको खुल्न आएको थियो।
घटनापछि फरार रहेका उनलाई खोजी गर्ने क्रममा महोत्तरीको भिटामोड नाकामा फेला पारी पक्राउ गरेको हो। घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।