यी १२ सांसद 'ऐतिहासिक' विधेयक पारित गर्दा अनुपस्थित भए
नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गर्न मत विभाजन हुँदा १२ सांसद अनुपस्थित भएका छन्।
अनुपस्थित हुनेमा नेकपाका ४, कांग्रेस र राजपाका ३/३ र संघीय समाजवादीका २ छन् । सत्तारुढ दल नेकपाका हरिबोल प्रसाद गजुरेल, शिवकुमार मण्डल, गोपालबहादुर बम र धनबहादुर बुढा अनुपस्थित भए।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका ज्ञानकुमारी छन्त्याल, सूर्यबहादुर केसी र नागेन्द्र कुमार संसदमा उपस्थित भएनन्।
राजपाका प्रमोदकुमार साह, अमृतादेवी अग्रहरी र दुलारी देवी खत्वेनी छन् भने संघीय समाजवादी फोरमका सूर्यनारायण यादव संसदमा उपस्थित थिएनन् ।
सरिता गिरी भने संसदमा आएर पनि आफ्नो कुरा राख्न नपाएको भन्दै बाहिरिएकी थिइन् । गिरी संसद बैठक शुरु हुने बित्तिकै निस्किएकी हुन् । संविधान संशोधन विधेयकमाथि उनले दर्ता गराएको संशोधन प्रस्ताव सभामुखले खारेज भएको जानकारी संसदमा गराएपछि उनी निस्किएकी थिइन्।
अनुपस्थित हुने कतिपय सांसदहरुले सञ्चो नभएका कारण उपस्थित हुन नसकेको बताए । सत्तारुढ दल नेकपाका सांसद गजुरेलले आफूलाई सञ्चो नभएकाले संसद बैठकमा सहभागी नभएको बताए । उनी नेकपाका स्थायी समिति सदस्य पनि हुन्।
अर्की सांसद अग्रहरीले पनि आफू दिउँसो संसद बैठकमा सहभागी भएको तर मतदान ढिलो भएपछि अस्पताल जानुपर्ने भएकाले निस्किएको बताइन्। उनले भनिन् "म बिरामी भएको थिएँ, ढिला हुने भएपछि अस्पताल जानका लागि निस्किएँ । अरु कारणले होइन, हाम्रो पार्टीले नै समर्थन गरिसकेपछि मेरो पनि समर्थन छँदैछ, स्वास्थ्यका कारण मतदान गर्न नपाउँदा दुःख लागेको छ ।"
आज संविधान संशोधन सर्वसम्मतिले पारित भएको हो । जसमा २५८ जनाले पक्षमा मतदान गरे, विपक्ष र मत दिन्न भन्नेमा कुनै पनि मत परेन । प्रतिनिधिसभामा कुल सांसदको संख्या २७५ छ । सभामुखलाई मत दिने अधिकार हुँदैन।
सरकारले नेपालको नयाँ नक्शा जारी गरेपछि संविधानको अनुसूची ३ परिवर्तन गर्न संविधान संशोधन गरिएको हो । आजको संसद बैठकमा सम्बोधन गर्दै दलका शीर्ष नेता तथा सांसदहरुले आजकाे दिनलाई 'ऐतिहासिक दिन' भनेका छन्।
४ जना निलम्बित
प्रतिनिधिसभाका ४ जना सांसद निलम्बित छन् । उनीहरुले बैठकमा भाग लिन पाउँदैनन्।
निलम्बनमा परेकामा विजयकुमार गच्छदार, मोहम्मद आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी छन्।