कार्यकर्ता लिएर कालापानीमा दृश्यावलोकन गर्न गएको होइन: रक्षामन्त्री पोखरेल
रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको हेलिकप्टरमा भारतसँग सिमाना जोडिएको कालापानी क्षेत्रमा आफ्नो पार्टीका कार्यकर्ता लिएर भ्रमणमा गएको आरोपमा सत्यता नभएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले आफू दृश्यावलोकनका लागि नगएको बताए।
उनले आफ्ना पार्टीका कार्यकर्ता लिएर भ्रमण गर्न गएको भन्नेमा सत्यता नभएको दाबी गर्दै कालापानीमा बन्ने बाटो नेपाली सेनालाई जिम्मा दिने विषयमा स्थलगत निरीक्षण गर्न गएको स्पष्टीकरण दिए।
"म त्यसबेला नियमित अनुगमनका लागि त्यहाँका निर्वाचित जनप्रतिनिधिसँग कालापानीमा बन्ने बाटो नेपाली सेनालाई दिन उपयुक्त होला कि नहोला भन्ने विषयमा स्थलगत अनुगमन गर्न गएको हुँ,"उनले भने।
पोखरेलले संसदको समितिलाई अनुगमनका लागि हेलिकप्टर उपलब्ध नगराएको विषयमा समेत सत्यता नरहेको बताए । यो विषय संवेदनशील भएको बताउँदै उनले विधि र प्रक्रियामा रहने गरी माग भएअनुसार हेलिकप्टर उपलब्ध हुँदै आएको दाबी समेत गरे।
महामारीका समयमा सेनाले नागरिकलाई दुर्व्यवहार गरेको विषयमा बोल्दै पोखरेलले सेनाले प्रहरीसँगको समन्वयमा कानूनको पालना गराएको भन्दै बचाउ गरे।