चौरजहारी घटनाको विरोधमा रुकुममा प्रदर्शन
प्रविर ददेल, रुकुम
सोती घटनाको विरोधमा रुकुममा नागरिक खबरदारी गरिएकाे छ। रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सोमबार सोती घटनाको विरोधमा खबरदारी गरिएको हो । नेपाली कांग्रेस रुकुम पश्चिमका भ्रातृ संगठनहरूले सोती घटनाको विरोधमा संयुक्त रुपमा नागरिक खबरदारी गरेको जनाएका छन्।
विशेषगरी नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ र नेपाल राष्ट्रिय मगर संघले संयुक्त रुपमा नागरिक खबरदारी गरेको नेपाल महिला संघकी अध्यक्ष मनिषा भण्डारीले जानकारी दिएकी छन् । उनले सोती घटनामा ६ जनाको हत्या गरिएको विषयमा पीडकलाई हदैसम्मको कारबाही गर्न माग समेत गरिएको जनाइन्।
सोती घटनामा हुनसक्ने राजनीतिक हस्तक्षेपको विरोध गर्दै नागरिक खबरदारी गरिएको नेपाल दलित संघका केन्द्रीय सदस्य यज्ञबहादुर परियारले जानकारी दिए । उनले भने, “हामी घटनाको सत्यतथ्य छानविनका लागि सहयोग गर्नुका साथै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका छौं।”
जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज विक र चौरजहारी नगरपालिका ८ सोती गाउँकी मल्ल थरकी युवतीबीच भएको अन्तरजातीय प्रेम सम्बन्धका कारण गत १० जेठमा नवराज विक सहित ६ जना मारिएका थिए । जसमा टीकाराम सुनार, लोकेन्द्र सुनार, सञ्जु विक, गणेश बुढा र गोविन्द शाहीको मृत्यु भएकाे छ भने १२ जना घाइते भएका छन्।
बिहे गर्न भनेर पश्चिम रुकुमको सोती गाउँ पुगेका जाजरकोटका युवाहरूलाई गाउँका स्थानीयले नवराज विकसहित १८ जनालाई गाउँबाट लेखेटेका थिए । पीडित परिवारले नवराज विक सहितका ६ जनालाई घरेलु हतियारले कुटेर हत्या गरेपछि भेरीमा बगाएको आरोप लगाउँदै आएका छन् । उता सोती गाउँका स्थानीयहरुले नवराज सहितका युवाहरु भेरीमा बगेर मरेको बताएका छन्।
अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराजसहित ६ जनाको हत्याको विरोधमा देश तथा विदेशमा समेत आन्दोलन भइरहेको छ।