रौतहट गढीमाईको क्वारेन्टिनमा बसेकालाई होटलको खाना
विभिन्न स्थानीय तहमा क्वारेन्टिनको अव्यवस्था र कमसल खानाबारे आलोचना भइरहेको वेला रौतहटको गढीमाई नगरपालिकाले भने खानाको व्यवस्थापन फरक किसिमले गरेको छ। नगरपालिकाले क्वारेन्टिनमा बसेकालाई होटलबाट खाना लगेर खुवाउने व्यवस्था मिलाएको हो।
नगरपालिकाले व्यवस्थापन गरेको पाँच वटा क्वारेन्टिन स्थलमध्ये समनपुर र संग्रामपुर दुई ठाउँमा होटलको खाना उपलब्ध गराइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए। नगरपालिकाले यी दुईसहित धर्मपुर, मलाही र गम्हरिया गरी पाँच ठाउँमा क्वारेन्टिन संचालन गरेको छ, जहाँ ३१६ जना छन्।
अन्य स्थानको क्वारेन्टिनमा रहेकालाई पकाउने मानिस राखेर खाना उपलब्ध गराइँदै आएको यादवको भनाइ छ।
क्वारेन्टिनमा दिनुपर्ने सुविधालाई नगरपालिकाले समयमै र गुणस्तरीय किसिमले पुर्याइरहेको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताएका छन्।
सञ्जय मित्र, रौतहट