'रेड जोन' बन्ने खतरामा दैलेख, पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन
लक्ष्मी भण्डारी, सुर्खेत
दैलेखमा कोरोना संक्रमितहरू बढेसँगै परीक्षणको दायरा बढाउन निर्देशन दिइएको छ । कर्णाली प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दैलेखमा तत्काल कोरोना परीक्षण बढाउन प्रदेश संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको हो।
शुक्रबार बसेको समितिको बैठकले कोरोनाभाइरसको रेड जोन बन्ने स्थिति आएको भन्दै कर्णाली प्रदेशमा पूर्वतयारीका लागि संकट व्यवस्थापन समितिलाई निर्देशन दिएको हो।
दैलेखमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको भन्दै क्वारेन्टिनमा रहेका नागरिकको संख्याका आधारमा तत्काल परीक्षण बढाउन पीसीआर मेसिन जडान गर्ने र सम्भव भए अर्को प्रदेशमा समेत स्वाब लगेर परीक्षण बढाउन निर्देशन दिएको छ।
शुक्रवार बसेको समितिको बैठकले प्रदेशभर कम्तीमा पनि २० वटा एम्बुलेन्स र आवश्यक शववाहन किन्ने व्यवस्था गरी त्यसका लागि आवश्यक चालकको व्यवस्था मिलाउन निर्देशन दिने, स्वास्थ्यकर्मीको संख्या बढाउन करारमा भर्ना गरी नियमित परीक्षण तथा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ।
त्यसैगरी क्वारेन्टिन, आइसोलेसन र आवश्यक ठाउँमा प्रदेश र संघीय सरकारसँग समन्वय गरी नेपाल प्रहरी, सशस्त्र प्रहरीको तालिम, जनशक्ति समेतको व्यवस्थापन गर्न समन्वय गरी परिचालन गराउन निर्देशन दिने र संक्रमितको संख्या र जोखिमको अवस्थाको आधारमा प्रभावित जिल्ला र पालिकाहरुमा स्वास्थ्यकर्मीहरुको परिचालन गरी स्वाब संकलन र परीक्षण बढाउन निर्देशन दिने निर्णय गरेको संसद सचिवालय कर्णाली प्रदेशले जानकारी दिएको छ।