जग्गा नामसारी र कित्ताकाट गर्न १७ लाख घूस लिने भैरहवा नापी र मालपोत कर्मचारीलाई भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीको जग्गा कित्ताकाट गरेर नामसारी गर्न १७ लाख घूस सहित रंगेहात पक्राउ गरेका ६ मध्ये ५ विरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आयोगको टोलीले १ चैत २०७६ मा भैरहवाको होटल अशोका नजिकबाट घूस लिइसकेको अवस्थामा नापी कार्यालय, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवाका नायब सुब्बा धर्मराज पन्थी र लेखापढी व्यवसायी जीवन शर्मा र बिचौलिया राजकुमार आर्याललाई नियन्त्रणमा लिएको थियो ।
आयोगको अनुसन्धानमा यो समूहले कास्की वस्ने जग्गाधनी गंगादेवी पौडेल र स्वतन्त्र पौडेलको नाममा रहेको रुपन्देही टिकुलीगढीमा रहेका १० कित्ता जग्गा कित्ताकाट गरेर नामसारी गर्न लेखापढी ब्यवसायी शर्मा र बिचौलिया अर्याल मार्फत घूस रकम लिएका थिए।
आयोगले शर्मा विरुद्ध १७ लाख बिगो मागदाबी सहित ४ वर्ष कैद सजाय मागदाबी गरेको छ । यस्तै नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी, नापी सर्भेक्षक तीर्थराज भण्डारीलाई बिगो १२ लाख र ४ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ । नायव सुब्वा पन्थीका हकमा घूस बापत लिएको ५ लाख बिगो मागदाबी र ४ वर्ष कैद सजाय मागदाबी गरिएको हो।