'बन्दाबन्दीमा गर्भवतीले स्वास्थ्य सेवा पाएनन्, हिंसा पीडित अन्यायमै'
प्रतिनिधिसभाका सांसदहरुले बन्दाबन्दीका कारण महिलाहरुको मौलिक हक हनन भइरहेको बताएका छन् ।
सांसद विन्दा पाण्डेले बन्दाबन्दीका कारण सुत्केरी हुनसमेत अस्पताल जान नपाएको, क्वारेन्टिनमा बसेकाहरुले त्यहीँ बच्चा जन्माउनु पर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
संसद बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले बन्दाबन्दीले महिलामाथि हिंसा बढेको र न्याय पनि नपाएको भन्दै हिंसा पीडितलाई न्याय दिने विषय अत्यावश्यक सेवा भित्र राखिनुपर्ने बताइन् ।
त्यस्तै सांसद विद्या भट्टराईले बन्दाबन्दीको समयमा गर्भवतीहरुले स्वास्थ्य सेवा लिन नपाएको भन्दै करीब ६० हजार गर्भवती आधारभूत स्वास्थ्य सेवाबाट पनि वञ्चित भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
सांसदहरु रुकुमको चौरजहारीमा भएको घटनाको सत्यतथ्य छानबिन गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराए । यो घटना मानवता विरोधी जघन्य अपराध भएको भन्दै तत्काल छानबिन गर्नुपर्ने पनि बताएका छन् ।