समाचार आइतबार, जेठ १८, २०७७

बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकामा कोरोना पोजेटिभ

हिमालखबर

बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकामा कोरोना पोजेटिभ

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। पछिल्लो पटक बाजुरामा दुई वर्षीया बालिकाको संक्रमणबाट मृत्यु भएको हो।

आठ दिनअघि आमाबाबुसहित भारतबाट आएर बाजुराको क्वारेन्टिनमा रहेकी बालिकालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि १५ जेठमा बाजुरा अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान साढे २ बजे उनको मृत्यु भएको थियो।

१६ गते उनको स्वाब संकलन गरिएकोमा धनगढीस्थित सेती अस्पतालमा पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि शनिबार दैलेखको दुल्लु नगरपालिकामा एक जनाको संक्रमणबाट ज्यान गएको थियो। दुल्लु-७ स्थित क्वारेन्टिनमा मृत्यु भएका ३५ वर्षीय युवकको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो। उनी दुल्लु नगरपालिका-११ का हुन्।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगिसकेको छ। जसमध्ये २२० जना उपचारपछि निको भएका छन्।

यो पनि पढ्नुहोस्- थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १५ सय नाघ्यो

प्रतिकृया दिनुहोस