ब्लग आइतबार, जेठ १८, २०७७

म भोलि फेरि जन्मनेछुु !

हिमालखबर

म भोलि फेरि जन्मनेछुु !

कला क्षेत्रलाई जोगाउन पहिला त कलाकार शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ। तर, यो बन्दाबन्दीले मानसिक तनावमा परेका कलाकारहरू पेशा र देशबाटै पलायन हुनसक्ने खतरा बढेको छ।


शहर शान्त छ, प्रकृतिलाई झनै लागेको होला बल्ल मैले स्वच्छ श्वास फेर्न पाएँ । महीनौंदेखि मेरो लागि रात दिन एकै भएका छन् ।

आजकल रातमा झ्याउकिरी, चराचुरुंगी, कुकुरहरुको भोकको भुकाइ, बिरालाहरुको रुवाइ, बाजाबाज ज्यादा सुन्न थालेकी छु । मात्र सुनेकी छैन दिनरात नभनी चल्ने गाडीहरुका अनेकौं टा...टु...टि...टा...टु । महीनौंदेखि आकाश सफा निश्चल अनि प्रेमिल भएका छन् ।

आजकल ज्यादा मनका कुराहरु सुन्न थालेकी छु । अनि वेला वेलामा मनको कुनै कुनाबाट प्रश्न आउँछ कतै टुटेकी त छैनस् नि ? त्यति कमजोर पनि कहाँ हो र म । म र मेरा वरिपरि हेर्छु र महशुस गर्छु ती बिहान खाए बेलुकी के खाऊँ भन्नेलाई कति कठिन भएको होला । मजदूरी गरी खानेको घरमा कसरी जीवन चल्दैछ, अनेकन प्रश्न आउँछ मनमा आजकल ।

नेपाल सरकारले कोभिड–१९ कोरोना महामारीबाट बच्नको लागि ११ चैतबाट बन्दाबन्दी (लकडाउन) को घोषणा ग¥यो । यो जरुरी पनि थियो । विश्वभरि फैलिएको यो महामारीले विश्व नै त्रसित अवस्थामा थियो । आजको दिनसम्म आइपुग्दा यो किस्ता किस्तामा बन्दाबन्दीको घोषणा हुँदै आएको छ । र, यो कहिलेसम्म लम्बिनेछ यसको कुनै अनुमान छैन । आज आएर विचार गर्छु कि अन्य राष्ट्रका जनताहरुमा हामी सहनसक्ने क्षमता भएका धैर्यवान् र अनुशासित रहेछौं ।

दुई महीनाभन्दा बढी भयो बन्दाबन्दी भएको । अब त विस्तारै संक्रमित भेटिएका एरियामा समेत सिलबन्दी गर्न थालिएको छ नेपालमा अनिश्चित बन्दाबन्दीले गर्दा विस्तारै एक किसिमको छटपटाहट र भोलिको दिनमा के हुन्छ भन्ने कुराको अन्योलमा पुगेको स्थिति छ । बन्दाबन्दीका शुरुका दिनमा भने रमाइलो नै अनुभव गरियो । कलाकारहरुका लागि यो भन्दा उचित समय के हुन सक्थ्यो र ! पढ्नका लागि, फिल्म हेर्ने, लेख्ने, खाना पकाउने, खुवाउने, योग गर्ने, आध्यात्मिक कुराहरु सुन्ने आदि इत्यादि ।

अब यी कार्यहरु दैनिकी जस्तै हुन थालिसके ।

यो महामारीले जीवनमा ल्याउने चुनौती र आउने अनेकौं समस्याहरु छँदै छ । नेपाली रंगमञ्चमा अबका दिनमा आउने अभाव, समस्याहरु, चुनौतीको सामना गर्न त्यति सजिलो छैन होला । नेपाल सरकारले अनिश्चित रुपमा बन्दाबन्दीको विकल्प अरु केही नसोचेको देखिन्छ । अन्य राष्ट्रहरु सावधानी अपनाई सामान्य जीवनमा फर्किरहेको अवस्था छ भने नेपाल अनिश्चित समयसम्म बन्दाबन्दीमै छ ।

यो बन्दाबन्दीले नेपालको आर्थिक स्थिति, राजनीति, कृषि, स्वास्थ्य, शैक्षिक क्षेत्र, रंगमञ्च, फिल्म, कला, साहित्यका क्षेत्र कति पछाडि धकेलिनेछ भन्ने विषयको एउटा महत्वपूर्ण पाटो त छँदैछ । तर, यत्तिकै अनिश्चित रुपमा बन्दाबन्दी हुँदै जाने हो भने पहिलो वर्गले त उनीहरुसँग भएको संचित धनले जीवन निर्वाह गर्न त्यति गाह्रो नपर्ला, तर दोस्रो वर्गको अलि फरक स्थिति छ ।

जसको घरबार छैन, जो ज्याला मजदुरी गरी खान्छन्, जो असहाय छन्, उनीहरुका लागि थियो शुरुवाती दिनमा राहत । यहाँ त हुने खाने नै पहिलो हप्तामै राहतको लाइनमा देखिए। आजको दिनसम्म आइपुग्दा राहत शुरुवाती दिनमा बाँडिनु जरुरी थियो कि अहिलेको स्थितिमा ?


मेरो अहिलेको चासो भनेको यो अनिश्चित बन्दाबन्दीले गर्दा रंगकर्मीहरु र सुटिङमा दैनिक ज्याला लिएर काम गर्ने प्राविधिकहरुको जीवन कसरी निर्वाह भइरहेको छ । म जस्ता धेरै रंगकर्मीहरु काठमाडौंमा बस्नुहुन्छ र विना सूचना सरकारले बन्दाबन्दीको घोषणा गरेपछि धेरै कलाकार काठामाडौंमा बस्नुपर्ने बाध्यता छ ।

पहिलो, दोस्रो, तेस्रो हप्तासम्म त जीवन सहज रुपमा चल्यो होला त्यसपछि के सहज भए होलान् ? म काठमाडौंकै वासिन्दा भएपनि घर छ संचित पैसा छैन ।  न त माग्न नै सक्छु न त यो आपतकालीनमा दिन नै सक्छु ।

बन्दाबन्दीको पहिलो हप्ता नपुग्दै विभिन्न संघसंस्था वा दयालु हातहरु राहत बाँड्नेको घुइँचो नै देखें सामाजिक संजालतिर । के त्यो समयमा साँच्चिकै राहतको जरुरी थियो ? किन सबैलाई त्यति हतारो भयो राहत बाँड्नको लागि, एक महीना त जेनतेन चल्थ्यो होला, जसको घरबार छैन, जो ज्याला मजदुरी गरी खान्छन्, जो असहाय छन्, उनीहरुका लागि थियो शुरुवाती दिनमा राहत । यहाँ त हुने खाने नै पहिलो हप्तामै राहतको लाइनमा देखिए ।

आजको दिनसम्म आइपुग्दा राहत शुरुवाती दिनमा बाँडिनु जरुरी थियो कि अहिलेको स्थितिमा ? मेरो चासोको विषय राहत मात्रै पनि होइन । राज्य पक्षको जनताप्रति निष्क्रिय सोचप्रति पनि मेरो केही गुनासो छैन ।

बस बन्दाबन्दीको घोषणा गरिदियो, कोरोना संक्रमण फैलिदैंन, जनताका नाममा वेला वेलामा सम्बोधन, जनताहरु घरघरैमा लकडाउन, समस्याको समाधान मास्क, सेनिटाइजरले बारम्बार हात धुनु अनि घरघरैमा लुकेर बस्नु, बस ।

‍‍‍‍...

यो बीचमा धेरै रंगकर्मी साथीहरुसँग कुराकानी भयो । देशविदेशमा बसेका साथीभाइहरुको समस्या एउटै थियो । तर, विदेशमा बसेका साथीहरुको जीवन चाहिं अलि सहज हुन थालेछ, सावधानी अपनाएर काम गर्न थालिसकेछन् ।

तर, नेपालमा भने परिस्थिति झनै जटिल हुँदै गइरहेको छ । धेरै रंगकर्मी साथीभाइहरुको एउटै गुनासो छ । अब के गर्ने ? सबैको समस्या भनेको घरबेटीको भाडा, रासन, ग्यास, अति आवश्यक पर्ने भइपरिआएमा मेडिकल खर्च आदि ।

एकजना साथीले फोन गरिन् भन्दै थिइन्, आज मेरो घरबेटीसँग वार्ता छ नि, फोन गर्दागर्दै खिस्स हाँसिन् । मैले सोधें– यो बन्दाबन्दीमा कोठा सर्नु भनेको हो ? उनी– हैन, अनि के त, उनी बडो तनावमा, घरबेटी सहमतिमा आउने हो कि हैन ? कुरा रहेछ भाडा आधा मात्रै लिने विषयमा ।

घरबेटी सहमतिमा आइछिन् । पूरै भाडा दिने तर एकैचोटि हैन आधा आधा गरी जहिलेसम्म दिंदा पनि हुने । आमा (घरबेटी) बुझेकी रहिछन् । हुन पनि त घरबेटीहरुलाई केही भन्ने बाटो पनि त छैन । भाडाकै भरमा जीवन चलाउने दोस्रो वर्गका घरबेटीहरु यहीं बस्छन् ।

...

अबको केही वर्षसम्म घरैमा बस्नुपर्ने स्थिति छ किनकि राज्यको कला, साहित्य र कलाकारप्रति कुनै पनि पूर्वाधार बनेको छैन । सोच भइदिएको भए यो लकडाउनमा प्रधानमन्त्रीज्यूले दुईपटक जनतालाई सम्बोधन गर्नुभयो । पहिलोपटकको सम्बोधनमा हुनेछ र दोस्रोमा पनि हुनेछ, गरिनेछ मात्रै सुन्न पाइयो । सम्बोधनमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी गुमाएकालाई काम दिलाउने, विदेशबाट आएकालाई रोजगार, ऋणीलाई ऋण मिनाहा, व्यापारीलाई कर मिनाह धेरै कुराहरु समेटियो होला तर यहाँको सम्बोधनमा कला, साहित्य, फिल्म कतै पनि जोडिएन ।

प्रधानमन्त्रीज्यूले नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५ मण्डला थिएटरको मञ्चमा भन्नुभएको थियो– “मलाई नाटक औधी मन पर्छ । नाटकलाई भविष्यमा अगाडि कसरी बढाउने भन्ने विषयमा गहन रुपमा सोच्नेछु ।” यो विषम परिस्थितिबाट भोलिका दिनमा कला साहित्य फिल्मलाई अगाडि बढाउने भन्ने विषय सम्बोधनमै परेनछ । यसको मतलब म राज्य प्रति निराश भएको भने पटक्कै हैन गुनासो मात्रै हो । भन्न मन लाग्छ कलाकारहरु राष्ट्रका गहना पक्कै हुन् तर कुनै संग्रहालयमा सजाउनको लागि मात्र ।

अहिले अधिकांश रंगकर्मी अन्योलमा परेको स्थिति छ । शुरुका दिनमा जीवन सहज भए पनि यो अनिश्चित लकडाउनले अबको दिन सहज नहुन सक्छ ।

मैले यो विषयमा एकजना अग्रजलाई सोधेकी थिएँ– भोलि कलाकारलाई केही त्यस्तो केही संकट आइहाल्यो भने सहयोगका लागि केही पहल गर्न सकिन्छ होला ? सायद उहाँसँग पनि जवाफ केही थिएन होला, भएको भए यस्तो संकटकालीन घडीमा रंगमञ्च राहत कोष खडा भइसक्थ्यो होला । सायद अहिले जीवन निर्वाह कसरी गर्ने भन्ने विषयमा चिन्तन गर्ने बेला हैन रंगमञ्चलाई भोलिका दिनमा कसरी अगाडि बढाउने भन्ने चिन्तनको वेला पनि हो । सायद उहाँको आशय यस्तै थियो ।

कुरा सही हो तर कुनै पनि क्षेत्र जोगाउन त्यसको पूर्वाधार सोच निर्माण गर्नका लागि कलाकार मानसिक र शारीरिक हिसाबले स्वस्थ रहनु पनि त्यत्तिकै जरुरी देखिन्छ । सरकारले यो किस्ताबन्दीमा गरेको बन्दले गर्दा आम नागरिक लगायत कलाकार पनि डिप्रेसन, फ्रस्टेसनको सिकार हुन पुगेका छन् ।

आफूले पढेको जानेको विषय नै यही कला क्षेत्र भएकोले मञ्चनबाट टाढा कतै पुगे वा मन बहकियो भने पनि फेरि वा मन विचलित भइहाल्यो भने पनि कुनै एउटा पात्रलाई सम्झेर ती वेग आवेग भावना अनुभवलाई सेक्सपिरियन शैलीमा आफूलाई बहकाउने कोसिस गर्छु ।

सबैभन्दा पहिलो कुरा अहिले स्वस्थ रहनु ठूलो कुरा हो । चाहे त्यो शारीरिक रुपमा या मानसिक रुपमा । अबको बाटो भनेको सहज नहुन सक्छ । रंगमञ्च र कलाकारहरुलाई अनेकौं चुनौती, समस्याहरु आउन सक्छन् । बाटो फरक हुन सक्छ । विदेशको रोजाइ हुन सक्छ, समय परिस्थिति फरक हुन सक्छ ।

जीवनमा अनेकौं समस्याहरु आइलाग्छन् र ती समस्याको प्रकृति हेरेर समाधानहरु पनि आउने छन् । समय टक्क अडिने छैन, चलिरहन्छ । प्रत्येकपल्ट नयाँ नाटक गर्दा फरक चरित्रको फरक अनुभूति, भावना, वेग, संवेग वा आवेग फरक हुन्छन् । त्यसैगरी यो समय पनि कुनै नाटकको मञ्चन भइरहेको छ र म त्यसको पात्र हुँ । बिहानै आँखा खुल्ने वित्तिकै यी सबै भावहरु बिर्सिएर शान्त हुन्छु ।

आफूले पढेको जानेको विषय नै यही कला क्षेत्र भएकोले मञ्चनबाट टाढा कतै पुगे वा मन बहकियो भने पनि फेरि वा मन विचलित भइहाल्यो भने पनि कुनै एउटा पात्रलाई सम्झेर ती वेग आवेग भावना अनुभवलाई शेक्सपिरियन शैलीमा आफूलाई बहकाउने कोसिस गर्छु ।

अहिले सम्पूर्ण कलाजगत नै विपश्यनामा ध्यान गरेर बसेको अनुभूति भइराखेको छ शून्य, शान्त । सायद हामी यो महामारीबाट बाहिर निस्कँदा शून्य, शान्त हुनेछौं । तर भोलिका लागि नयाँ सोच र नयाँ जाँगरका साथ विपश्यनाबाट बाहिर आउँदाको दिनमा शून्यबाट हुनेछ । जहाँ विन्दु अथवा शून्य हुन्छ त्यहाँबाट अनेकौं लाइन तान्न सकिने छ । अबको दिनमा मेरो लागि रंगमञ्च शून्य वा विन्दुबाट अनेकौं खिच्न सकिने लाइनहरु हुनेछन् ।

शंकर लामिछानेको कथा ‘म भोलि जन्मनेछु’ जस्तै रंगमञ्चमा म भोलि फेरि जन्मनेछु !

प्रतिकृया दिनुहोस