कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, संविधान संशोधनबारे निर्णय लिइने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दैछ। केन्द्रीय मुख्यालय सानेपामा बैठक दिउँसो १ बजे बैठक बोलाइएको छ।
बैठकमा संविधान संशोधन विधेयक, आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट, कोभिड महामारी लगायतबारे छलफल हुने तय भएको छ। तर, विशेषगरी संविधान संशोधनबारे छलफल हुने केन्द्रीय सदस्य प्रदीप पाैडेलले बताए।
कांग्रेसकै आग्रहमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले दर्ता गरेको संविधान संशोधन प्रस्ताव संघीय संसदमा पेश हुन सकेको छैन। १४ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमै सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव तत्काल रोक्न आग्रह गरेका थिए।
सभापति देउवाले केन्द्रीय कार्य समिति बैठकबाट यसबारे निर्णय लिने बताएका थिए। सभापति देउवाकै आग्रहमा रोकिएको संशोधन प्रस्तावबारे आजको केन्द्रीय कार्य समिति बैठकबाट निर्णय लिइने कांग्रेसले जनाएको छ।
लिम्पियाधुरा सहित समेटेर सरकारले नेपालको नयाँ नक्शा जारी गरेपछि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ। संविधानको अनुसुची–३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक दर्ता गरिएको छ।