नेकपाको सचिवालय बैठक शुरु
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।
आगामी आर्थिक वर्षको बजेटमा विवादित अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राखिए पछि सचिवालय बैठक बोलाइएको हो। बैठकमा बजेट केन्द्रित छलफल हुने जनाइएको छ।
१५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट प्रष्ट भाषामै एमसीसी समावेश गरिएको छ। बजेट वक्तव्यमा नराखिएको एमसीसी अनुसूचीमा राखिएको हो।
विदेशबाट आउने अनुदान अन्तर्गतको अनुसूची–१० मा एमसीसी राखिएको छ। अमेरिकाबाट आउने अनुदानमा एमसीसीबाट यो वर्ष पाँच अर्ब ७२ करोड ७२ लाख आउने अनुमान गरिएको छ। अमेरिकाबाट अनुदान आउने यूएस एड सँगै एमसीसी पनि उल्लेख गरिएको छ।
यूएस एडबाट ३५ करोड आउने अनुमानसँगै एमसीसी उल्लेख गरिएको छ। एमसीसी संसदले पारित नै गरेको छैन। नेकपामा एमसीसीबारे विवाद भएपछि गएको पुसमा सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो।
कार्यदलमा समेत विवाद छ। संयोजक खनाल र सदस्य भीम रावलले एउटा र अर्का सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन्।