समाचार शुक्रबार, जेठ १६, २०७७

नेपालमा कोरोनाभाइरस: ५०० संक्रमित पुग्न ९८ दिन, १००० पुग्न १०४ दिन

हिमालखबर

नेपालमा कोरोनाभाइरस: ५०० संक्रमित पुग्न ९८ दिन, १००० पुग्न १०४ दिन
null

नेपालमा पहिलो संक्रमित ३ फागुनमा भेटिएपछि अरु ३७ दिनसम्म थप संक्रमित भेटिएनन् । दोस्रो संक्रमित १० चैतमा भेटिएपछि भने धमाधम संक्रमण बढ्न थाले । बिहीबार १०४ दिन पुग्दा जम्मा संक्रमितको संख्या एक हजार नाघेको छ ।

पहिलो संक्रमित भेटिएको ९८ दिनपछि मात्र ५०० जनामा संक्रमण भेटिएको थियो । तर, थप ६ दिनमा नै ५०० भन्दा बढी संक्रमित भेटिएका छन् । यसले नेपालमा संक्रमण दर उच्च हुँदै गएको देखाएको छ ।

संक्रमितको संख्या १०० पुग्न ८३ दिन लागेको थियो । २९ वैशाखमा संक्रमितको संख्या १०१ पुग्यो । तर, दोस्रो सय भने दुई दिनमा नै नाघ्यो । ३१ वैशाखमा संक्रमितको संख्या २०८ पुग्यो ।

त्यसपछि ५ जेठमा ३३८, ८ जेठमा ४०५ र १० जेठमा ५११ जना संक्रमित फेला परे । त्यसयता हरेक दुई वा तीन दिनमा संक्रमितको संख्या १०० नाघ्न थाल्यो ।

बिहीबार एकै दिन १५६ जना संक्रमित भेटिए । यो अहिलेसम्म एकै दिन भेटिएका सबैभन्दा धेरै संक्रमित संख्या हो । पछिल्लो ६ दिनमा ५२६ नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो पाँच दिनदेखि हरेक दिन संक्रमितको संख्या बढिरहेको छ ।

फागुनभरिमा जम्मा एक जना संक्रमित भेटिएका थिए । चैतमा ११ संक्रमित भेटिएका थिए । वैशाखमा २३१ संक्रमित भेटिए । जेठमा शुक्रबार बिहानसम्ममा ७९९ संक्रमित फेला परिसकेका छन् ।

अहिलेसम्म कूल संक्रमितको संख्या १०४२ छ । तीमध्ये १८७ जना निको भएका छन् । पाँच जनाको मृत्यु भएको छ । उपचाररत संक्रमितको संख्या ८५० छ ।

प्रतिकृया दिनुहोस