काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा वर्षा
नेपालको पश्चिम क्षेत्रमा विकास भएको न्यून चापीय प्रणाली र पूर्वी क्षेत्रमा विकास भएको न्यून चापीय रेखाका कारण देशका विभिन्न ठाउँमा वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का तराईका जिल्लाबाहेक प्रायः भागमा तीन दिनदेखि वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासी न्यून चापीय प्रणाली र न्यून चापीय रेखा बाहेक स्थानीयस्तरमा विकास भएको मौसमी प्रणालीले पनि वर्षा गराउन मद्दत गरेको छ । “हामी अहिले प्रि मनसुनको अन्तिम चरणमा छौं, मनसुन आइसकेको छैन, तर देशका पूर्वी र पश्चिम भागमा विकास भएका प्रणालीले पानी परिरहेको छ,” उनी भन्छिन् “यस्तो अवस्था तीन दिनसम्मै जारी रहने देखिन्छ ।”
महाशाखाका अनुसार बिहीबार साँझसम्म सबैभन्दा बढी कास्कीको लुम्लेमा ७३ मिलिमिटर बर्षा भएको छ । देशका पूर्व र पश्चिम क्षेत्रमा विकास भएका प्रणालीहरुले तराई क्षेत्रको तापक्रम घटेको छ । ४२ डिग्रि सेल्सियस पुगेर गर्मीको महशुस गरेका भैरहवा, नेपालगञ्ज र धनगढी क्षेत्रमा शितल भएको छ ।
उपत्यका र मध्य पहाडी क्षेत्रमा रोकिए पनि अपरान्हपछि बदली भएर फेरि पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार पश्चिमी भूभागमा अपरान्हतिर वर्षा हुने संभावना कम छ ।
पुर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भेगका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।