भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर नेपाली सेनाको गम्भीर ध्यानाकर्षण
नेपाली सेनाले भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा नेपाल भारत सम्बन्धबारे नेपाली सेनालाई समेत जोडेर छापेको सामाग्री र एउटा दक्षीपन्थी ब्लग टीएफआईपोस्टमा प्रकाशित सामाग्री भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार रहेको भन्दै नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
"उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पु-याउने उद्देश्यबाट प्रेरित देखिन्छ" सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ।"
सेनाले यस सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्रीबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको जानकारी गराएको छ ।
सेनाले आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन सबैलाई अनुरोध समेत गरेको छ ।