सरकार आफैले कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाएको हो : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ जेठको कार्यसूचीबाट सरकार आफैले संविधान संशोधनको प्रस्ताव हटाएर प्रतिपक्षी पार्टीलाई दोष लगाएको भन्दै आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसको संसदीय दलद्वारा जारी विज्ञप्तिमा कार्यसूचीबाट आफैं संविधान संशोधनको प्रस्ताव हटाएको र प्रमुख प्रतिपक्षी दललाई आरोप लगाउनु गम्भीर भएको जनाएको हो ।
संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरू एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नतर्फ लाग्नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाएर प्रमुख प्रतिपक्ष दललाई त्यसबारेमा आरोप लगाउन खोज्ने कार्यलाई गभ्मीरतापूर्व लिइएको कांग्रेस संसदीय दललले जनाएको छ ।
"जेठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरेको थियो र जेठ १४ का लागि बैठक अथवा कार्यसूची निर्धारित थिएन," नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, "अतः जेठ १४ गतेको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको छ ।"