चीन र भारत बीचको सीमा विवादमा मध्यस्थता गर्न अमेरिका तयार : ट्रम्प
अमेरिकी राष्ट्रपति डानल्ड ट्रम्पले भारत र चीनबीच उत्पन्न सीमा विवाद सुल्झाउन अमेरिका मध्यस्तता गर्न तयार रहेको बताएका छन्। बुधबार राष्ट्रपति ट्रम्पले अमेरिकाले भारत र चीनलाई यस विषयमा जानकारी गराइसकिएको बताएका छन्।
अमेरिका भारत र चीनबीचको सीमा विवाद छिटो समाधान होस् भन्ने अमेरिकाले चाहेको बताउँदै ट्रम्पले ट्विट गरेका छन्, "हामीले भारत र चीन दुवैलाई अमेरिका दुवै देशको सीमा विवाद समाधान गर्न मध्यस्तता गर्न तयार रहेको जानकारी गराएका छौं। अमेरिका दुवैको सीमा विवाद गर्न तयार र सक्षम रहेको छ। धन्यवाद।'
भारत र चीनबीचमा एकपटक अहिले पुन: सीमा विवाद बढेको देखिएको वेला ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन्। चीनले पूर्वी लद्दाखको पेङ्गोङ त्सो तालमा गस्ती डुंगाहरूको तैनाथी बढाएसँग चीन भारत सीमा समस्या बढेको छ।
तीन साताअघि सोही ताल नजिक भारतीय र चिनियाँ सैनिकबीच धकेलाधेकल भएको थियो। उक्त क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) नजिक पर्छ।
भारतले अक्साई चीनमा पर्ने गालवन घाटी किनारामा चिनियाँ सेनाका केही टेन्ट देखिएको भन्दै उक्त क्षेत्रमा आप्नो फौजको तैनाथी बढाएको थियो।
उता चीनले भारतमाथि गालवन घाटी नजिकै रक्षासम्बन्धी गैरकानुनी निर्माण गरिरहेको आरोप लगाएको थियो।