रक्सौलपारिका क्वारेन्टिनबाट ४०० जना नेपाल भित्रिए
भारतीय सीमापारिका क्वारेन्टिनमा रहेका नेपाली लामो बसाइँपछि बुधबार वीरगञ्ज नाकाबाट नेपाल भित्रिएका छन्।
रक्सौलकाे क्वारेन्टिनमा राखिएका भारतका विभिन्न राज्यमा रोजगारी तथा अन्य पेशाका लागि गएका २५ जिल्लाका करीब ४ सय नेपाली वीरगञ्ज नाका भएर फर्किए।
नेपाल प्रवेश गर्नेमा अधिकांश प्रदेश १,२ र ५ का रहेका छन् । भारतबाट आउने नेपालीको विवरण लिएर सम्बन्धित जिल्ला पठाउने तयारी थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार पर्सा र काठमाडौंबाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाउने तयारी भइसकेको छ।
लकडाउनका कारण लामो समयदेखि सीमावर्ती भारतीय शहर रक्सौलको क्वारेन्टिनमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । बुधबार बिहान पहिलो लटमा १ सय १ जना नेपाल भित्रिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
मुख्य नाकामा सुरक्षाकर्मीले उच्च सतर्कतासाथ उनीहरूको विवरण लिएका थिए । स्वास्थ्यकर्मीले तापक्रम जाँचेका थिए भने शंकराचार्य गेटनजिकै बनाइएको टेन्टमा खाने पानी, बिस्कुट र मास्कको व्यवस्था गरिएको थियो।
यसअघि जेठ ६ मा वीरगञ्जमा रोकिएका २ सय १५ भारतीय नागरिकलाई भारतीय अधिकारीको जिम्मा लगाइएको थियो । स्थानीय प्रशासनले भारतीय नागरिकलाई स्वदेश फर्काएको भोलिपल्ट रक्सौलको क्वारेन्टिनमा रहेका २ सय २२ नेपालीलाई स्वदेश ल्याउने कार्यक्रम रहेको जनाएको थियो । तर, भारतीय पक्षको आनाकानीका कारण ७ दिनपछि मात्र नेपाली नागरिक स्वदेश फर्किएका हुन् ।
एस उपाध्याय, वीरगञ्ज