पूर्व राज्यमन्त्री चौधरीको निधन
पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीको निधन भएको छ । दुई दिन अघि हृदयाघात भएपछि उपचारका क्रममा बुटवलको मुटु अस्पतालमा शुक्रबार ११ बजे मृत्यु उनको भएको हो।
रुपन्देहीको ओमसतिया निवासी चौधरी ३ पटक सहायक र राज्यमन्त्री भएका थिए । नेपाली कांग्रेसका महासमिति सदस्य चौधरीको ७० बर्षको उमेरमा निधन भएको उनका भतिजा सूर्यभान चौधरीले बताए ।
चौधरीका ३ छोरा १ छोरी र श्रीमती छन् । उनी महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्री, आपूर्ति सहायक मन्त्री तथा स्थानीय प्रशासन राज्य मन्त्री भएका थिए। नेपाली कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको केन्द्रीय सदस्य भएका थिए।
पार्टीमा खुमबहादुर खड्का निकट मानिने चौधरीले बीपी कोइरालासँग लामो समय सँगै राजनीति गरेका थिए । उनको मृत्युपछि नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।