मोहम्मद महताब आलम पक्रन गएका प्रहरीमाथि ढुङ्गामुढा, १२ राउण्ड हवाई फायर
हत्या आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइ मोहम्मद महताब आलम पक्राउ गर्न रौतहटको राजपुर फरहदवास्थित घर गएको टोलीमाथि स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । महताब भने भाग्न सफल भएका छन् ।
राजपुर बम काण्डका आरोपित मोहम्मद महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार मध्यरातमा उनको घरमा छापामारेको थियो । उनी इद मनाउन घर आएको सूचनाको आधारमा पक्राउ गर्न प्रदेश प्रहरीको टोली त्यहाँ पुगेको हो । महताब आलम सहित तीनजना घरैमा लुकेर बसेको सूचना प्रहरीलाई थियो ।
तर, स्थानीयमाथि प्रहरीले आक्रमण गरेपछि भीड नियन्त्रणका लागि हवाई फायर गर्नुपरेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीलाई स्थानीयले अल्झाएपछि अभियुक्तहरू भागेको प्रहरीको आशंका छ । घरभित्र पूर्वमन्त्री आलम र भाइ महताब आलमकी पत्नी तथा बालबच्चाहरु मात्र रहेको पाइएको प्रहरीको भनाइ छ ।
बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयका डीएसपी गोविन्द पुरीको कमाण्डमा ११ भ्यान प्रहरीले राजपुर नगरपालिका ४ राजपुर फरहदवास्थित पूर्व मन्त्री आलमको घर रातिको करीब साढे १२ बजे घेराउ गरेको थियो । चारैतिरबाट घेरा हालेपछि मेन चेनगेटलाई बलजफ्ती खोलेर प्रहरी घरभित्र पसेको थियो । प्रहरीले करीब एक घन्टासम्म आलमको घरमा खोजतलास गरेको थियो ।
चर्चित राजपुर बम काण्डमा पूर्वमन्त्री आलमका भाइ महम्मद महताब आलमसमेत फरार प्रतिवादी हुन् । उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । घटनाका आरोपी पूर्व मन्त्री महम्मद आफताब आलम भने अदालतको आदेशअनुसार कारागारमा छन् । आलमविरुद्धको मुदा अदालतमा विचाराधीन छ ।
आलमको घरमा प्रहरीले छापामारी गरेको सूचना गाउँमा फैलिएरपछि हजारौँको संख्यामा स्थानीयबासी जुटेका थिए ।
तर, पूर्व मन्त्री महम्मद आफताब आलमको घरमा छापा मारिएको आफूलाई बिहान मात्र थाहा भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् ।
प्रहरीले घटनाका मुख्य अभियुक्त मोहम्मद अफताव आलम सहित मोहम्मद महताब आलम (फरार), मोहम्मद मोविन आलम (फरार), शेख भदई (फरार), शेख सेराज भन्ने शेष सर (फरार), शेख फजलेह (फरार) र सगिर आलम (फरार) लाई घटना लगत्तै परेको किटानी जाहेरीका आधारमा प्रतिवादी कायम गरेको छ।
यस बाहेक अनुसन्धानका क्रममा घटनामा प्रत्यक्ष संलग्न देखिएका शेख जुमइन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ती साहलाई पनि अभियुक्त कायम गरेर अदालतमा मुद्दा चलाइएको छ ।
यस्तो थियो आलम प्रकरणको घटना
२७ चैत २०६४ साँझ साढे ६ बजे रौतहटको राजपुरफरहदवा गाविस वडा नम्बर ४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम विष्फोटन भएको थियो। अर्को दिन हुने संविधान सभा निर्वाचनलाई लक्षित गरी भारतीय कारिगर सहितले बम बनाउँदा अचानक विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विस्फोटमा जाहेरीवाला नारायणसिंह राजपुतको छोरा वर्ष (२२) को पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र रोक्साना खातुनको छोरा वर्ष २२ को ओसी अख्तरको मृत्यु भएको थियो ।
विस्फोटमा घाइते भएकाहरुलाई आलम समूहले उपचारको साटो आफ्नो लगानी र बद्री सहनीले संचालन गर्ने राज इँट्टा भट्टामा हालेर जलाएका थिए। घटनामा कति जनाको हत्या गरियो हालसम्म खुलेको छैन।
प्रत्यक्षदर्शी स्थानीयहरुका अनुसार कम्तीमा २० भन्दा बढी व्यक्तिहरुलाई यसरी निर्ममता पूर्वक हत्या गरिएको थियो। घटना खुल्ने डरले सोही रात विस्फोटमा भत्किएको घरको छानो र पर्खाल समेत लगाएर स्थानीयलाई डरत्रासमा राखिएको थियो।