सर्लाहीमा १५ सहित थप ३० जनामा कोरोना संक्रमण, नेपालमा कुल ४८७ पुग्यो
नेपालमा थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुमध्ये १५ जना सर्लाहीको रहेका छन् भने अन्य नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन र कपिलवस्तुका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सर्लाहीकाे गोडैता नगरपालिकाको वडा नम्बर ८, ९, ११, १३ र १४ का तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नम्बर ७ का २२ देखि ३९ वर्षका १४ जना पुरुष र १८ वर्षीया एक महिला रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ८ जना पुरुष र ८ वर्षीया एक बालिकासहित ९ जना छन् ।
अन्य संक्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका ६ का ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम ३ दुई पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमित सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहान ३० जना थपिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४८७ पुगेको छ ।