बन्दाबन्दीभरि भत्ता दिन आंशिक प्राध्यापकको माग
शैक्षिक सत्रको सुरुमै पाउनुपर्ने नियुक्तिपत्र नपाउँदा पारिश्रमिक गुमेको भन्दै नेपाल आंशिक प्राध्यापक संघले बन्दाबन्दीको अवधिभर भत्ताको व्यवस्था गर्न माग गरेको छ ।
विश्वविद्यालयले संचालन गरिरहेको अनलाइन कक्षामा सहभागी भए पनि नियुक्ति नहुँदा पारिश्रमिक नपाएको संघका अध्यक्ष डा. महेश कुमार गजुरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । “कतिपय क्याम्पसहरुले आंशिक शिक्षकहरुलाई शैक्षिक सत्रको शुरुमै दिनुपर्ने नियुक्तिपत्र पनि नदिएको, नियुक्तिको अभावमा हाजिरी पनि नभएको र काम गरेको महिनौंसम्म पनि ज्याला नपाएको अवस्था छ” विज्ञप्तिमा भनिएको छ, “यद्यपि हामी आफ्नो कर्तव्य सम्झिएर विश्वविद्यालय तथा क्याम्पसले खटाएको कक्षा भार पढाइरहेका छौं ।”
संघले तत्काल भत्ताको व्यवस्था नभए सम्पूर्ण शैक्षिक तथा प्राज्ञिक गतिविधिबाट आफूलाई अलग राख्न बाध्य हुने जनाएको छ । आंशिक प्राध्यापकसँग भएको मौजदात रकम र खाद्यान्न सकिएर चुल्हो बल्ने अवस्था नभएको पनि विज्ञप्तिमा जनाइएको छ । संघले सबै आंशिक प्राध्यापकलाई करार गर्ने मन्त्रिपरिषद्को ८ मंसीर २०७४ को निर्णय कार्यान्वयन गर्न पनि माग गरेको छ ।